जनकपुरधाम, ४ असार । सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्या प्रकरणमा जन्मकैदको सजाय पाएका मधेश प्रदेशका निलम्बित सांसद अभिराम शर्माको २४औँ पटकको पेशी उच्च अदालत जनकपुरले पुनः स्थगित गरेको छ ।

बुधबार न्यायाधीशद्वय महेन्द्रनाथ उपाध्याय र खेमराज भट्टको संयुक्त इजलासमा तोकिएको पेशी ‘हेर्न नभ्याइने’मा राखिएपछि मुद्दा फेरि स्थगित भएको हो ।

२०७२ साल भदौ २५ गते दोस्रो मधेश आन्दोलनको क्रममा महोत्तरीमा असई थमन विकको एम्बुलेन्सबाट निकालेर हत्या गरिएको घटनामा सांसद शर्मा सहित सात जना दोषी ठहर भएका थिए । जिल्ला अदालत महोत्तरीले २०८० मंसिर २८ गते शर्मा, जलेश्वरका पूर्व मेयर रामशंकर मिश्र, सुरेश पाण्डे र धमेन्द्र रायलाई जन्मकैदको फैसला सुनाएको थियो ।

सो फैसलाविरुद्ध उच्च अदालत जनकपुरमा अपिल दायर गरिए पनि अहिलेसम्म अन्तिम सुनुवाइ नहुनु पीडित पक्षका लागि निराशाजनक बनेको छ ।

उक्त मुद्दामा एमाले सांसद लक्ष्मी महतो कोइरीलाई भने सफाइ दिइएको थियो । सांसद शर्माले निलम्बनको अवस्थामा रहे पनि २०७९ को प्रदेश निर्वाचनमा पुनः उम्मेदवारी दिएर निर्वाचित भएका थिए ।

अदालतले अर्को पेशी कहिले तोकिने भन्नेबारे स्पष्ट जानकारी दिएको छैन । लगातार पेशी स्थगित भइरहँदा न्याय प्रक्रिया ढिलो हुँदै गएको भन्दै पीडित परिवारले चासो व्यक्त गरेका छन् ।