सप्तरी, ४ असार । मधेश प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री राजकुमार लेखीले शहीदहरूको योगदानलाई कदर गर्दै उनीहरूप्रति सम्मान जनाउनु सरकारको पहिलो दायित्व भएको बताएका छन् ।

बुधबार सप्तरीको सप्तकोशी नगरपालिका–३ मा आयोजित वडा सभालाई सम्बोधन गर्दै मन्त्री लेखीले वीर शहीदहरूको बलिदानले नै लोकतन्त्र र संघीयताको जग बसाएको उल्लेख गर्दै त्यसको सम्मानमा कुनै सम्झौता नहुने स्पष्ट पारे ।

उनले शहीद परिवारका लागि विशेष कार्यक्रम तथा योजनाहरू ल्याउने विषयमा प्रदेश सरकार प्रतिवद्ध रहेको जानकारी दिए ।

गृहमन्त्री लेखीले आफू जनप्रतिनिधिका रूपमा निर्वाचित भएयता गाउँ–बस्तीमा पुगेर सल्लाह, सुझाव लिँदै जनभावनाअनुसार नीतिगत कामलाई प्राथमिकता दिएको पनि बताए ।

कार्यक्रममा सहभागी स्थानीय नागरिकहरूले शान्ति सुरक्षा, सडकमार्ग सुधार, बेरोजगारी, र सामाजिक सुरक्षा भत्ता लगायतका विषयमा ध्यानाकर्षण गराएका थिए । मन्त्री लेखीले प्रदेश सरकार जनअपेक्षाअनुकूल योजनाहरू अघि बढाउन प्रतिबद्ध रहेको धारणा राखे ।

गृहमन्त्री लेखीले बुधबार राजबिराज नगरपालिकाको वडा नं.२ राजदेवी टोलस्थित थारु छात्रावासमा सभाहल र पुस्तकालय भवनको पनि शिलान्यास गरेका छन् ।

मन्त्री लेखीकै पहलमा मधेश सरकारले चालू आ.व.२०८१/०८२ मा विनियोजित बजेट अन्तर्गत कुल ४५ लाख रुपैयाँको लागतमा सुबिधा सम्पन्न सो सभाहल तथा पुस्तकालय बन्न लागेको हो ।

आर्थिक बर्षको अन्तिम महिनामा आएर कामको शुरुवात भएकोले पर्याप्त जनशक्ति लगाई द्रुतगतिमा काम गर्न निर्माणमा संलग्न पक्षहरूलाई निर्देशन समेत दिए ।