सर्लाही, ४ असार । सर्लाहीको बागमती नगरपालिका–१२ स्थित प्रहरी चेकपोस्टमा प्रहरीले शंकास्पद बिल–बिजक भएका ४२ लाखभन्दा बढी मूल्यका सामान बोकेको ट्रक नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय कर्मैयाका अनुसार विशेष सूचनाको आधारमा प्रहरी नायब निरीक्षक सुभाष यादवको नेतृत्वमा खटिएको टोलीले वीरगंजबाट इटहरीतर्फ जाँदै गरेको बा.५ ख ३०७ नम्बरको ट्रक रोकेर जाँच गर्दा ट्रकमा रहेको विभिन्न सामानहरूको बिल कागजात शंकास्पद देखिएको हो ।

ट्रकमा टायर, छर्ने औषधी, मोबिल, खाने तेल, रेगुलेटर, मोटर पाट्र्स, घिउ, किसमिस, छाता, कस्मेटिक र इलेक्ट्रोनिक सामग्रीलगायतका विविध वस्तुहरू लोड गरिएको प्रहरीले जनाएको छ ।

साना ठूला सबै प्रकारका खुद्रा सामानहरूले भरिएको उक्त ट्रकमा रहेको सामग्रीको अनुमानित मूल्य ४२ लाख ४० हजार ३४७ रुपैयाँ रहेको छ ।

प्रहरीले ट्रक र उक्त सामानहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाएको जानकारी दिएको छ ।