महोत्तरी, ४ असार । महोत्तरीको मटिहानी नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ४४ करोड ५० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

नगरप्रमुख हरिप्रसाद मण्डलले बुधबार १५औं नगरसभाको खुला सत्रमा नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्दै धार्मिक पर्यटन, शिक्षा, स्वास्थ्य, कृषि र पशुपालनमा विशेष प्राथमिकता दिएको जानकारी दिए ।

नगरले प्रस्तुत गरेको बजेटमध्ये संघीय सरकारबाट २८ करोड १० लाख, राजस्व बाँडफाँडबाट १० करोड ५ लाख, प्रदेश सरकारबाट १ करोड २६ लाख र आन्तरिक स्रोतबाट ५ करोड ९० लाख संकलन गरिने अनुमान गरिएको छ ।

नगरप्रमुख मण्डलका अनुसार मटिहानीको ऐतिहासिक र धार्मिक पहिचानलाई विश्वसामु चिनाउन मटिहानी मठलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने पहल गरिनेछ । साथै, जलसागर, गोसाइँकुण्ड लगायतका धार्मिक क्षेत्रहरूको सौन्दर्यीकरण तथा मठ, मस्जिद र मन्दिरहरूलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने योजना अघि सारिएको छ ।

शिक्षा क्षेत्रमा कक्षा १ देखि ८ सम्म मैथिली भाषालाई पूर्ण विषयको रूपमा १०० अंकमा पढाइनेछ । साथै, कक्षा ११ मा अध्ययनरत छात्राहरूलाई निःशुल्क साइकल वितरण, जेहेनदार दलित, अपांग तथा शहीद परिवारका विद्यार्थीलाई छात्रवृत्ति, फ्री बुक एण्ड ब्याग डे कार्यक्रम सञ्चालन गरिनेछ ।

स्वास्थ्य सेवातर्फ बर्थिङ सेन्टरबाट जनकपुरधामसम्म रेफर गरिएका गर्भवती महिलालाई निःशुल्क एम्बुलेन्स सेवा, निःशुल्क अल्ट्रासाउन्ड सेवा तथा आयुर्वेद र पारम्परिक चिकित्सा प्रणालीको प्रवद्र्धनका लागि बजेट विनियोजन गरिएको छ ।

त्यस्तै, तालिम र स्वरोजगार योजनामार्फत उद्योग तथा व्यापार प्रवद्र्धन, पूर्वाधार निर्माण, सिँचाइ व्यवस्थापन, सुशासन, विपद् तयारी, सञ्चार र खेलकुदको प्रवद्र्धनका लागि समेत छुट्टै कार्यक्रम समेटिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेश सभामुख रामचन्द्र मण्डलले मटिहानी नगरपालिकाको योजनागत सोचको प्रशंसा गर्दै प्रदेश सरकारबाट आवश्यक समन्वय र सहयोगको प्रतिबद्धता जनाए ।

नगरसभामा नगर कार्यपालिका सदस्य, वडाध्यक्ष, कर्मचारी, स्थानीयवासी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।