जनकपुरधाममा बीमा प्राधिकरण र पत्रकार महासंघबीच अन्तरक्रिया

जनकपुरधाम, ४ असार । नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालय र नेपाल पत्रकार महासंघ धनुषा शाखाबीच बीमा सचेतना अभिवृद्धिका लागि अन्तरक्रिया तथा छलफल कार्यक्रम बुधबार जनकपुरधाममा सम्पन्न भएको छ ।
महासंघको सभाहलमा आयोजित कार्यक्रममा बीमा प्राधिकरण मधेश प्रदेश प्रमुख प्रीति देवको अध्यक्षता र महासंघ धनुषाका अध्यक्ष पुरन साहको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा महासंघका पदाधिकारी, वरिष्ठ पत्रकार तथा विभिन्न सञ्चारमाध्यमका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो ।
कार्यक्रममा स्वागत मन्तव्य दिंदै प्राधिकरणका सहायक निर्देशक शिवप्रसाद खनालले बीमा क्षेत्रको वर्तमान अवस्था, मधेश प्रदेशमा देखिएको चुनौती र त्यसको समाधानका सम्भाव्य उपायहरूमाथि प्रकाश पारे । उनले बीमा प्रणालीलाई आमनागरिकसम्म पुर्याउन सञ्चारकर्मीको भूमिका निर्णायक रहेको बताए । ‘विश्वास जगाउने र पहुँच विस्तार गर्ने कुरामा सञ्चारकर्मीको कलम र माइक सबैभन्दा प्रभावकारी माध्यम हो,’ उनले भने ।
छलफलका क्रममा सहभागी पत्रकारहरूले बाली बीमा प्रभावकारिता, बीमा दाबी प्रक्रिया लामो र झन्झटिलो हुनु, बीमा एजेन्टको कमिसन सम्बन्धी समस्या, कोरोना बीमा अझै नपाउनु, तथा आयकर छुट लगायतका विषयमा प्रश्न उठाए । त्यस्तै नक्कली बीमा दाबीको बढ्दो प्रवृत्तिबारे पनि गम्भीर चासो व्यक्त गरियो ।
कार्यक्रमका प्रमुख अतिथि पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साहले बीमा प्रणालीलाई ढिलो प्रक्रियाबाट छिटो, पारदर्शी र सर्वसुलभ प्रणालीतर्फ लैजान बीमा प्राधिकरणले ठोस सुधारका कदम चाल्नुपर्नेमा जोड दिए । ‘हामी जनचेतनामूलक अभियानमा सधैं साथ दिन तयार छौं, तर प्रणालीले पनि विश्वास जित्न सक्नुपर्छ,’ उनले भने ।
कार्यक्रम सञ्चालन सहायक निर्देशक महेश मण्डलले गरेका थिए भने अन्त्यमा प्राधिकरण प्रमुख प्रीति देवले सञ्चारकर्मीहरूसँगको सहकार्य बीमा चेतनामै नभई नागरिकहरूको जीवन सुरक्षाका दृष्टिले समेत महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरिन् ।
उनले बीमा प्राधिकरणले समावेशी, उत्तरदायी र पहुँचयुक्त बीमा प्रणाली निर्माण गर्न निरन्तर पहल गरिरहेको पनि जानकारी दिइन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


