महोत्तरी, २ असार । महोत्तरीको बर्दिबास नगरपालिका–३ गौरीडाँडास्थित स्नेहा होटलबाट वेश्यावृत्तिमा संलग्न रहेको आरोपमा प्रहरीले दुई भारतीय नागरिकसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ ।

सोमबार बिहान इलाका प्रहरी कार्यालय बर्दिबासबाट प्रहरी निरीक्षक राजेश बर्तौलाको नेतृत्वमा खटिएको टोलीले होटलमा छापा मार्दा अवाञ्छित गतिविधिमा संलग्न पाइएका उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा भारतको सीतामढी मजफ्फरपुर–१० का २५ वर्षीय राकेश बैठा, मजफ्फरपुर–४ का ३६ वर्षीय जयकरण बैठा, महोत्तरी रामगोपालपुर–८ की ३० वर्षीया सुनिन्त्रादेवी मण्डल, सिरहा लहानकी ३० वर्षीया प्रतिभा शर्मा तथा होटल सञ्चालक बर्दिबास–३ का ३७ वर्षीय रामबहादुर तामाङ रहेका छन् ।

इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक विकास बमका अनुसार बर्दिबासका केही होटलहरूमा विगतदेखि लागुऔषध कारोबार, चोरी योजना तथा यौनजन्य अपराधका गतिविधिहरू भइरहेकाले निगरानी बढाइएको थियो ।

‘होटलमा रहेका महिलाहरू अपराधिक गतिविधिमा प्रयोग हुने तथ्यहरू देखिएपछि निगरानी तीव्र पारिएको हो,’ डिएसपी बमले भने, ‘पक्राउ परेका सबैमाथि अनुसन्धान सुरु गरिएको छ ।’

बर्दिबास क्षेत्रका केही होटलहरू अपराधिक गतिविधिको केन्द्र बन्दै गएको गुनासो बढेपछि प्रहरी सक्रिय बनेको हो ।