जलवायु संकट समाधानमा सरकार मात्र पर्याप्त छैन : मन्त्री यादव

जनकपुरधाम, २ असार । मधेश प्रदेशका वन तथा वातावरणमन्त्री संजयकुमार यादवले जलवायु परिवर्तनको चुनौतीसँग जुध्न सरकारको प्रयास मात्र पर्याप्त नहुने बताएका छन् ।
वेलायत सरकारको सहयोगमा सञ्चालित ‘रेन परियोजना’ अन्तर्गत जनकपुरधाममा सोमबार आयोजित प्रदेशस्तरीय समन्वय बैठकलाई सम्बोधन गर्दै उनले सबै तहका सरकार, समुदाय र गैरसरकारी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेको बताएक हुन् ।
मन्त्री यादवले जलवायु संकटको असर मधेश जस्तो संवेदनशील भूगोलमा झनै गम्भीर रूपमा देखिन थालेको उल्लेख गर्दै वातावरणीय संरक्षणमा युवापुस्ताको सक्रिय भूमिका आवश्यक रहेको बताए ।
‘सरकारी, गैरसरकारी र स्थानीय समुदायबीचको साझा पहलबिना वातावरण जोगाउन सकिँदैन,’ उनले भने, ‘नदी–नाला सफाइ, जैविक विविधता संरक्षण र वातावरणीय सचेतनामा युवालाई अगुवा बनाउनु आजको आवश्यकता हो ।’
बैठकमा वन निर्देशनालय मधेश प्रदेशका निर्देशक जगरनाथ प्रसाद जयसवालले चुरे क्षेत्र, बाढीपीडित भूभाग तथा अन्य जोखिमयुक्त क्षेत्रमा पूर्वतयारी, सूचना व्यवस्थापन र नीति–बजेट समन्वयको आवश्यकता औंल्याए ।
उनका अनुसार जलवायु जोखिम न्यूनीकरणका लागि चलिरहेको ‘रेन परियोजना’लाई अझ प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तहबीच कार्यगत समन्वय अनिवार्य छ ।
बैठकमा प्रदेश सरकारका विभिन्न निकाय, विकास साझेदार संस्था, स्थानीय सरकारका प्रतिनिधि, वातावरण विज्ञ तथा सरोकारवाला संघसंस्थाहरूको सक्रिय उपस्थिति रहेको थियो ।
बैठकमा सबै तहका सरकार र समुदायबीच आपसी सहकार्यमार्फत जलवायु संकटको समाधान खोजिनुपर्नेमा जोड दिइएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


