राजविराज नगरपालिकामा आन्दोलन चर्कियो, चार दिनदेखि कामकाज ठप्प

सप्तरी, २ असार । राजविराज नगरपालिकाका कर्मचारी कुटपिट, लुटपाट र धम्कीविरुद्ध कारबाहीको माग गर्दै धर्नामा उत्रिएपछि नगरपालिकाको कामकाज गत चार दिनदेखि ठप्प भएको छ ।
नेपाल नगरपालिका कर्मचारी एशोसिएसनको अगुवाइमा आन्दोलनरत कर्मचारीले दोषीलाई कारबाही नभएसम्म काममा नफर्किने अडान लिएका छन् ।
नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको सरुवालाई लिएर उत्पन्न विवादले उग्र रूप लिँदा जेठ २५ गते निलम्बित मेयर भीमराज यादवका समर्थकले कार्यालयमा तालाबन्दी गरेका थिए । त्यसको दुई दिनपछि कार्यवाहक नगरप्रमुख इसरत परवीन पक्षका समर्थकले स्थानीय प्रशासनको सहयोगमा ताला खोलेका थिए । सोही दिन यादव पक्षका समर्थकहरूले लेखा अधिकृत शत्रुधन दास, स्वास्थ्यकर्मी सन्तोष दासलगायतलाई कुटपिट गरेका थिए भने कार्यालयमा तोडफोडसमेत गरेका थिए ।
कर्मचारी एशोसिएसनकी अध्यक्ष कल्पना देवका अनुसार कुटपिटका क्रममा लेखा अधिकृत दासको सुनको सिक्रीसमेत लुटिएको छ । प्रमुख प्रशासकीय अधिकृतका रूपमा हरिकिशोर प्रसाद चन्द्रवंशीले सोमबार पदबहाली गरे पनि कर्मचारी आन्दोलित छन् ।
कर्मचारीहरूको मागमा कुटपिट र तोडफोडमा संलग्न योजना अधिकृत मनोज यादवलगायतलाई कारबाही गर्नु, करार सेवाका इन्जिनियर अशोक दासलाई पुनः बहाल गर्नु, दैनिक ज्यालादारी कर्मचारीको बाँकी १६ दिनको तलब भुक्तानी गर्नु र दुर्घटना बीमाको व्यवस्था गर्नु रहेका छन् ।
स्थानीय तहमा कर्मचारीमाथि बढ्दो हिंसात्मक गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै कर्मचारीहरूले आन्दोलन चर्काउने चेतावनीसमेत दिएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


