पर्सा, २ असार । चालु आर्थिक वर्षको एघार महिनामा वीरगंज भन्सार कार्यालयले १ खर्ब ५८ अर्ब ६० करोड ४३ लाख रुपैयाँ राजस्व सङ्कलन गर्न सफल भएको छ । यो रकम वार्षिक लक्ष्यको ७९.०७ प्रतिशत बराबर हो ।

भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले जेठ महिनामा सबैभन्दा बढि १८ अर्ब १८ करोड रुपैयाँ राजस्व सङ्कलन भएको बताए । लामिछानेले आगामी आर्थिक वर्षको बजेटले व्यवसायिक गतिविधिमा उत्साह थपेकाले राजस्व सङ्कलनमा सकारात्मक प्रभाव परेको बताए ।

कार्यालयले साउनदेखि वैशाखसम्म प्रत्येक महिनामा उल्लेखनीय सङ्कलन गर्दै आएको छ । साउनमा १२ अर्ब १५ करोड, भदौमा १३ अर्ब ४२ करोड, असोजमा १३ अर्ब ४७ करोड, कात्तिकमा ११ अर्ब १० करोड, मंसिरमा १४ अर्ब ४० करोड, पुसमा १५ अर्ब ४७ करोड, माघमा १४ अर्ब ४४ करोड, फागुनमा १४ अर्ब ६३ करोड, चैतमा १५ अर्ब ४७ करोड र वैशाखमा १५ अर्ब ७२ करोड रुपैयाँ राजस्व सङ्कलन गरिएको थियो ।

भन्सार प्रमुख लामिछानेका अनुसार पेट्रोलियम पदार्थ र सवारीसाधन आयात राजस्व सङ्कलनको मुख्य स्रोत बनेका छन् । भन्सार विभागले वीरगंज भन्सारका लागि यो वर्ष दुई खर्ब १८ अर्ब ९५ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य तय गरेको छ ।

राजस्व प्रगतिको यो दर कायम रहेमा आर्थिक वर्षअन्त्यसम्म वीरगंज भन्सारले लक्ष्यको ठूलो हिस्सा पूरा गर्ने सम्भावना रहेको भन्सार प्रशासनको विश्वास छ ।