सर्लाही, २ असार । बागमती नगरपालिकाका निलम्बित नगरप्रमुख भरतबहादुर थापा ५० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।

उनलाई सार्वजनिक सम्पत्तिको दोहन, वातावरणीय विनाश, तथा वन पैदावारमा क्षति पुर्याएको अभियोगमा थुनामा राखिएको थियो ।

जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले आइतबार थुनछेक बहसपछि थापालाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो । आदेशपछि अदालतमा उपस्थित थापाले ५० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापाविरुद्ध ४७ लाख घनमिटरभन्दा बढी ढुंगा, गिट्टी र बालुवा अवैध रूपमा उत्खनन गरी डेढ अर्बभन्दा बढी मूल्यको वन पैदावारमा क्षति पुर्याएको भन्दै कारबाही अघि बढाएको हो । आयोगले थापासहितका प्रतिवादीहरूमाथि १ अर्ब ४७ करोड ३९ लाख ४३ हजार ३३७ रुपैयाँ ४५ पैसाको क्षतिपूर्ति दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ ।

उक्त प्रकरणमा उपप्रमुख लीलाकुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, लेखा अधिकृत विश्वराज पोखरेल, इन्जिनियर सागर पौडेल र जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरीसमेत प्रतिवादी बनाइएका छन् ।

यसअघि थापाविरुद्ध भरत ताल निर्माणमा लागत मूल्य फर्जी देखाएर अनियमितता गरेको अभियोगमा पनि विशेष अदालतमा छुट्टै मुद्दा दायर भइसकेको छ । यही कारण उनी हाल निलम्बनमा रहेका छन् ।