जनकपुरधाम, २ असार । मधेश प्रदेश सरकारअन्तर्गत समृद्धिको लागि वन परियोजना अन्तर्गत कबुलियती वन कार्ययोजना कार्यान्वयनसम्बन्धी दुईदिने गोष्ठी धनुषाको ढल्केवरमा सम्पन्न भएको छ ।

गोष्ठीको आयोजना जनकपुरधामस्थित प्रदेश परियोजना व्यवस्थापन इकाईले गरेको हो भने डिभिजन वन कार्यालय धनुषाले कार्यक्रमको समन्वय गरेको थियो । कार्यक्रममा वन उपभोक्ता समूहका प्रतिनिधिहरू, स्थानीय तहका जनप्रतिनिधिहरू, सरोकारवाला निकायका पदाधिकारी र वन प्रशासनका अधिकारीहरूको उपस्थिति रहेको थियो ।

गोष्ठीमा कबुलियती वनको दीर्घकालीन संरक्षण, स्रोतको न्यायोचित उपयोग, उपभोक्ताको सहभागिता र परियोजनासम्बन्धी कार्यान्वयनका चुनौतिहरूका विषयमा गहन छलफल गरिएको थियो । सहभागीहरूले कार्ययोजना स्थानीय आवश्यकता अनुसार परिमार्जन गर्दै व्यवहारमा उतार्नुपर्नेमा जोड दिए ।

कार्यक्रमका वक्ताहरूले परियोजनाको उद्देश्यलाई स्थानीयस्तरमै प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने धारणा राख्दै वातावरणीय संरक्षण, समावेशी सहभागिता र समुदायकेन्द्रित दृष्टिकोणलाई नीति निर्माणको आधार बनाइनुपर्ने बताए ।

गोष्ठीले वन स्रोतको न्यायोचित उपयोग, वातावरणीय सन्तुलन र समुदायको समावेशी हितलाई सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यान्वयनका लागि सरोकारवाला निकायबीचको सहकार्यलाई प्राथमिकता दिने निष्कर्ष निकालेको छ ।