औरहीमा सुरु भयो ब्युटिसियन तालिम, ३० जना महिलाको सहभागिता

महोत्तरी, २ असार । सरिता फाउन्डेसनको आयोजनामा महोत्तरीको औरही नगरपालिकामा ‘ब्युटिसियन तालिम’ सुरु भएको छ । तालिममा ३० जना महिलाहरूको सहभागिता रहेको छ ।
सोमबार तालिमको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रूपमा औरही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवेन्द्र चौधरीको उपस्थिति रहेको थियो । साथै विशेष अतिथिका रूपमा वडा नं. ७ का अध्यक्ष जितेन्द्र यादव, वडा नं. ३ का अध्यक्ष रामकेवल यादव, वडा नं. २ का अध्यक्ष दरेश यादव, वडा नं. ८ की वडा सदस्य इन्दु सदा र महिला शाखा प्रमुख रीता ओली सहभागी थिए ।

सरिता फाउन्डेसनका अध्यक्ष सरिता साहले महिलाहरूलाई सीपमूलक तालिममार्फत आर्थिक रूपमा सशक्त बनाउने तालिमको उद्देश्य रहेको बताइन् । उनले भनिन्, ‘तालिममा सहभागी महिलाहरूले ब्युटिसियनको विविध सीप सिक्नेछन् । यसले उनीहरूलाई आत्मनिर्भर बन्ने यात्रामा सघाउँछ ।’
‘हामी महिलाहरूलाई सशक्त बनाउन र आत्मनिर्भर बनाउने लक्ष्यसहित यो तालिम सञ्चालनमा ल्याएका हौं,’ साहले भनिन्, ‘स्थानीय सरकार र समुदायको साथले हामी उत्साहित छौं ।’


