जनकपुरधाम, १ असार । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि कुल ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आइतबार बसेको प्रदेश सभाको पाँचौ अधिवेशनको दशौं बैठकमा अर्थमन्त्री सुनिल कुमार यादवले उक्त बजेट प्रस्तुत गरेका हुन् ।

बजेटमा चालूतर्फ १६ अर्ब ७२ करोड र पूँजीगततर्फ ३० अर्ब २६ करोड विनियोजन गरिएको छ । कुल बजेटमा चालू खर्च ३५.८९ प्रतिशत र पूँजीगत खर्च ६४.११ प्रतिशत रहेको छ ।

स्रोतहरू यस्तो छन् :
आन्तरिक राजस्वबाट : ९ अर्ब ५० करोड ८३ लाख
वित्तीय समानीकरण अनुदान – ७ अर्ब ७२ करोड १९ लाख
सशर्त अनुदान – ४ अर्ब २६ करोड १८ लाख
विशेष अनुदान – ३९ करोड ४५ लाख
समपूरक अनुदान – ३५ करोड ८२ लाख
अनुदानमार्फत जम्मा : १२ अर्ब ६३ करोड ६४ लाख प्राप्त हुने अनुमान

संघीय राजस्व बाँडफाँटबाट : १२ अर्ब ३४ करोड ४५ लाख
गत वर्षको मौज्दातबाट : १० अर्ब ३८ करोड २ लाख ५१ हजार
आन्तरिक ऋणबाट : २ अर्ब संकलन हुने

मन्त्रालयगत बजेट विनियोजन :
भौतिक पूर्वाधार विकास मन्त्रालय – १५ अर्ब ८८ करोड (सर्वाधिक)
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय – ६ अर्ब ४५ करोड
ऊर्जा, सिंचाइ तथा खानेपानी मन्त्रालय – ४ अर्ब ४१ करोड
शिक्षा तथा संस्कृति मन्त्रालय – ३ अर्ब ५७ करोड
उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय – ३ अर्ब ८ करोड
कृषि मन्त्रालय – २ अर्ब ८३ करोड
वन तथा वातावरण मन्त्रालय – २ अर्ब ३७ करोड
युवा, खेलकुद तथा सामाजिक कल्याण मन्त्रालय – १ अर्ब ६८ करोड
गृह, सञ्चार तथा कानून मन्त्रालय – ६४ करोड ८९ लाख
श्रम तथा यातायात मन्त्रालय – ५७ करोड १४ लाख

गत वर्षको तुलनामा चालू आर्थिक वर्षको बजेट ६.१३ प्रतिशतले वृद्धि भएको छ । सरकारले बजेटमार्फत आत्मनिर्भर र समृद्ध मधेश निर्माणको आधार तयार गर्ने उद्देश्य लिएको बताइएको छ । बजेट प्रस्तुतीकरणका क्रममा अर्थमन्त्री यादवले फजुल खर्च नियन्त्रण गरी, उत्पादनमुखी क्षेत्रमा लगानी वृद्धि गर्दै रोजगारी सिर्जना र समृद्ध प्रदेशको परिकल्पना साकार पार्न बजेट लक्षित गरिएको बताए ।

मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि चालु तर्फ १५ अर्ब ९४ करोड र पुँजीगत तर्फ २७ अर्ब ८९ करोड गरी जम्मा ४३ अर्ब ८९ करोडको बजेट ल्याएको थियो । आर्थिक वर्ष २०८१/८२ को कुल बजेटको आकार आर्थिक वर्ष २०८०/८१ को भन्दा ०.५० प्रतिशतले कम रहेको थियो । यसैगरी आर्थिक वर्ष २०८०/८१ का लागि चालु तर्फ १८ अर्ब ५४ करोड र पुँजीगत तर्फ २५ अर्ब ५७ करोड गरी जम्मा ४४ अर्ब ११ करोडको बजेट प्रस्तुत भएको थियो ।

आर्थिक वर्ष २०७९/८० का लागि चालु तर्फ २० अर्ब ९० करोड र पुँजीगत तर्फ २५ अर्ब ९७ करोड गरी जम्मा ४६ अर्ब ८८ करोड बजेट तर्जुमा गरी प्रस्तुत भएको थियो । आर्थिक वर्ष २०७८/७९ का लागि चालु तर्फ १५ अर्ब ३१ करोड र पुँजीगत तर्फ १९ अर्ब ५६ करोड गरी जम्मा ३४ अर्ब ८८ करोड, आर्थिक वर्ष २०७७/७८ का लागि चालु तर्फ १४ अर्ब ७ करोड र पुँजीगत तर्फ २० अर्ब ३६ करोड गरी जम्मा ३४ अर्ब ४४ करोड, आर्थिक वर्ष २०७६/७७ का लागि चालु तर्फ २१ अर्ब ६९ करोड र पुँजीगत तर्फ २२ अर्ब ४४ करोड गरी जम्मा ४४ अर्ब १४ करोड र आर्थिक वर्ष २०७५/७६ का लागि चालु तर्फ ११ अर्ब ९५ करोड र पुँजीगत तर्फ १७ अर्ब २२ गरी जम्मा २९ अर्ब १७ करोड प्रस्तुत गरेको थियो ।