समाज रूपान्तरणमा कलाकार र पत्रकारको भूमिका अविश्वसनीय छ : गृहमन्त्री लेखी

जनकपुरधाम, १ असार । मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले समाजमा सकारात्मक रूपान्तरण ल्याउन कलाकार र सञ्चारकर्मीहरूको भूमिका अतुलनीय रहेको बताएका छन् ।
आइतबार जनकपुरधाममा आयोजना गरिएको ‘चलचित्र तथा लोकसञ्चार प्रवर्द्धन बोर्डको संस्थागत विकाससम्बन्धी संवाद’ कार्यक्रममा बोल्दै मन्त्री लेखीले केवल राजनीतिक नेतृत्वको प्रयासले मात्र समाजको समग्र रूपान्तरण सम्भव नहुने भन्दै पत्रकार र कलाकारको सक्रियता र योगदानले समाजमा चेतना र बदलाव ल्याउने उल्लेख गरे ।
उक्त कार्यक्रम चलचित्र तथा लोकसञ्चार प्रवर्द्धन बोर्ड, मधेश प्रदेश सरकारको आयोजनामा सम्पन्न भएको हो । मन्त्री लेखीले वर्तमान संविधानले देशलाई धेरै अधिकारहरू प्रदान गरिसकेको बताउँदै ती उपलब्धिहरूको रक्षा गर्दै अझ नयाँ उपलब्धिहरूको खोजीमा लाग्नुपर्ने आवश्यकता औंल्याए ।
उनले भने, ‘यदि समयमा बजेट फ्रिज भएन र योजना समयमै ल्याइयो भने मन्त्रालयले कलाकार तथा सञ्चार क्षेत्रका लागि आवश्यक सबै सहयोग गर्न तयार छ ।’
कलाकारहरूको प्रस्तुति र जोश देखेर आफू उत्साहित र आशावादी भएको भन्दै मन्त्री लेखीले विगतमा कलाक्षेत्र उपेक्षित रहेको बताए । उनले भने, ‘७ वर्ष भयो प्रदेश सरकार बनेको । अब हाम्रा जनप्रतिनिधिसँग छलफल गरेर आफ्नै पहिचानसहित काम गर्ने समय आएको छ । अहिलेको संघीय प्रणाली नै त्यो अवसर हो ।’

कार्यक्रममा सहभागी प्रदेश सभा सदस्यहरूले कला, संस्कृति र सञ्चारको प्रवर्द्धनका लागि बोर्डले नीतिगत, संरचनागत र व्यवहारिक पक्षमा सुधार ल्याउनुपर्नेमा जोड दिए । नेकपा एकीकृत समाजवादीका रत्नेश्वरलाल गोइतले चलचित्र बोर्डले कलाकारहरूलाई रोजगारीसँग जोड्ने योजना बनाउनुपर्ने बताए ।
नेकपा एमाले नेतृ शारदा देवी थापाले लागुपदार्थको दुर्व्यसन रोक्न चेतनामूलक चलचित्र निर्माण आवश्यक रहेको भनिन् । नेपाली काँग्रेसका जीवछी यादवले मधेश प्रदेशमा रहेका कलाकारहरूको तथ्याङ्क सङ्कलन गरेर तिनको संरक्षण गर्ने नीति आवश्यक रहेको धारणा राखिन् ।
जसपाका नेता मनिष सुमनले भने, ‘हरेक व्यक्तिमा कुनै न कुनै कला हुन्छ । अब तिनको खोज, संरक्षण र प्रवर्द्धन गर्नुपर्ने बेला आएको छ ।’ लोसपाकी रमिता प्रधानले सामाजिक विकृति अन्त्य र भाषाको संरक्षणमा चलचित्र बोर्डले ध्यान दिनुपर्ने बताइन् ।

कार्यक्रममा नीति तथा योजना आयोग मधेश प्रदेशकी सदस्य डा. शिला मिश्रले चलचित्र तथा सञ्चार माध्यमहरूले समाजमा व्याप्त विकृति, विसङ्गतिलाई उजागर गर्नुपर्ने आवश्यकता औंल्याइन् । उनले भनिन्, ‘अबका फिल्महरू केवल नाचगान वा प्रेमकथा मात्र नभई सामाजिक प्रश्न र उत्तर दिने माध्यम बन्नुपर्छ ।’
चलचित्र तथा लोकसञ्चार प्रवर्द्धन बोर्डका अध्यक्ष किशोरकुमार लेखीले कलाक्षेत्रभित्र रहेका विकृति हटाउँदै पारदर्शी रूपमा काम गर्ने प्रतिबद्धता जनाए । उनले भने, ‘मधेश प्रदेश सरकारको समर्थन रहेसम्म म सबैको सुझाव समेटेर यो अभियानलाई इमानदारीपूर्वक अघि बढाउनेछु ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


