जनकपुरधाम, ०१ असार । मधेश प्रदेश सरकारले आज आर्थिक वर्ष २०८२/८३ का लागि बजेट ल्याउँदैछ । राजस्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्न दिउँसो ४ बजे मधेश प्रदेश सभाको बैठक आह्वान गरिएको छ । प्रदेश सरकारका अर्थमन्त्री सुनिलकुमार यादवले बजेट प्रस्तुत गर्ने छन् ।

अर्थमन्त्रालय स्रोतका अनुसार अर्थमन्त्री यादवले ४७ अर्बभन्दा बढीको बजेट आज प्रदेशसभामा प्रस्तुत गर्दैछन् । आगामी वर्षको बजेट चालु आर्थिक वर्ष २०८१/८२ को तुलनामा करिब ३ अर्ब रुपैयाँले ठूलो हुने अर्थ मन्त्रालयले जनाएको छ । बजेटमा कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास र सामाजिक सुरक्षालाई प्राथमिकता दिइएको छ ।

यसपटक मधेश सरकारले प्रस्तुत गरिसकेको नीति तथा कार्यक्रमको मूल आधार कृषिमा आधारित रहेको बताइएको छ । प्रदेश सरकारले कृषिलाई समृद्धिको मेरुदण्ड ठानी आन्तरिक उत्पादन वृद्धि, आधुनिक प्रविधिको प्रयोग, निजी क्षेत्रको संलग्नता, बीउ–विजनको सुनिश्चितता, सिँचाइ सुविधा, भण्डारण पूर्वाधार विकास, बजारीकरण तथा बीमा प्रणालीलाई प्राथमिकता दिने योजना बनाएको छ ।

नवीन कृषि रणनीति अन्तर्गत युवालाई कृषितर्फ आकर्षित गर्ने, कृषिमा व्यवसायिकरण ल्याउने, सहकारी तथा निजी क्षेत्रको सहकार्यमा नवप्रवर्तनशील कार्यक्रम सञ्चालन गर्ने सोच प्रदेश सरकारले लिएको छ ।

मधेश प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा ४३ अर्ब ८९ करोड ७० लाख रुपैयाँको बजेट ल्याएको थियो । प्रदेश लेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार जेठ महिनाको अन्तिम सातासम्म जम्मा ८ अर्ब ८९ करोड ५२ लाख रुपैयाँ मात्र खर्च भएको छ । यो कुल बजेटको केवल २०.२६ प्रतिशत हो ।

खर्च विवरणमा हेर्दा पुँजीगत शीर्षक अन्तर्गत जम्मा ३ अर्ब ८२ करोड ६६ लाख रुपैयाँ मात्रै खर्च भएको छ । यो कुल पुँजीगत बजेटको १३ प्रतिशत मात्र हो । यता, चालु खर्चतर्फ ५ अर्ब ७२ करोड ८८ लाख रुपैयाँ खर्च गरिएको छ । यो विनियोजित बजेटको ३२ प्रतिशत हो ।

मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि चालु तर्फ १५ अर्ब ९४ करोड र पुँजीगत तर्फ २७ अर्ब ८९ करोड गरी जम्मा ४३ अर्ब ८९ करोडको बजेट ल्याएको थियो । आर्थिक वर्ष २०८१/८२ को कुल बजेटको आकार आर्थिक वर्ष २०८०/८१ को भन्दा ०.५० प्रतिशतले कम रहेको थियो । यसैगरी आर्थिक वर्ष २०८०/८१ का लागि चालु तर्फ १८ अर्ब ५४ करोड र पुँजीगत तर्फ २५ अर्ब ५७ करोड गरी जम्मा ४४ अर्ब ११ करोडको बजेट प्रस्तुत भएको थियो ।

आर्थिक वर्ष २०७९/८० का लागि चालु तर्फ २० अर्ब ९० करोड र पुँजीगत तर्फ २५ अर्ब ९७ करोड गरी जम्मा ४६ अर्ब ८८ करोड बजेट तर्जुमा गरी प्रस्तुत भएको थियो । आर्थिक वर्ष २०७८/७९ का लागि चालु तर्फ १५ अर्ब ३१ करोड र पुँजीगत तर्फ १९ अर्ब ५६ करोड गरी जम्मा ३४ अर्ब ८८ करोड, आर्थिक वर्ष २०७७/७८ का लागि चालु तर्फ १४ अर्ब ७ करोड र पुँजीगत तर्फ २० अर्ब ३६ करोड गरी जम्मा ३४ अर्ब ४४ करोड, आर्थिक वर्ष २०७६/७७ का लागि चालु तर्फ २१ अर्ब ६९ करोड र पुँजीगत तर्फ २२ अर्ब ४४ करोड गरी जम्मा ४४ अर्ब १४ करोड र आर्थिक वर्ष २०७५/७६ का लागि चालु तर्फ ११ अर्ब ९५ करोड र पुँजीगत तर्फ १७ अर्ब २२ गरी जम्मा २९ अर्ब १७ करोड प्रस्तुत गरेको थियो ।