जनकपुरधाम, ३१ जेठ । मधेशको तीव्र गर्मीले जनजीवन प्रभावित भइरहेका बेला धनुषामा एक वृद्ध महिला सडकमै अचेत अवस्थामा फेला परेपछि प्रहरीले मानवीय हस्तक्षेप गर्दै समयमै उद्धार गरेको छ ।

धनुषाको महेन्द्रनगरदेखि हरिहरपुरतर्फ जाने सडकखण्ड अन्तर्गत औरही खोलाको दुर्गा टोल नजिक एक महिला होस गुमाएको देखेपछि स्थानीयले इलाका प्रहरी कार्यालय महेन्द्रनगरलाई खबर गरेका थिए ।

खबर प्राप्त भएको केही मिनेटमै प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरीको सक्रियतामा ती महिलालाई पानी खुवाई होशमा ल्याइयो । पहिचान खुल्दा ती महिला मिथिला नगरपालिका–३ हरिहरपुरकी बासिन्दा रहेको पुष्टि भएको छ ।

प्रहरीले महिला पूर्ण रूपमा होशमा आएपछि सरकारी भ्यानमार्फत घरसम्म सुरक्षित पुर्याएको जानकारी दिएको छ ।

लगातारको उच्च तापक्रमका कारण मधेशको विभिन्न स्थानमा गर्मीजन्य स्वास्थ्य समस्या देखिन थालेको छ । स्वास्थ्यकर्मीहरूले विशेषगरी बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीहरूलाई अत्यधिक गर्मीबाट जोगिन आवश्यक सावधानी अपनाउन आग्रह गर्दै आएका छन् ।

स्थानीयवासीले समयमै उद्धार गरेर वृद्धालाई घर पुर्याउने कार्यमा देखाएको प्रहरीको तत्परताको प्रशंसा गरेका छन् । प्रहरीको यस्तो मानवीय कार्यले सेवा, सुरक्षा र सहयोगको भूमिकालाई जनस्तरसम्म पुनः स्थापित गरेको स्थानीयले बताए ।