नापतौल कार्यालय जनकपुरद्वारा १ हजार ८७२ व्यवसायीलाई कारबाही

जनकपुरधाम, ३१ जेठ । जनकपुरधामस्थित गुणस्तर तथा नापतौल कार्यालयले चालु आर्थिक वर्षका १० महिनामा अनुमतिपत्रबिना नापतौल यन्त्र प्रयोग गर्ने १ हजार ८७२ व्यवसायीलाई कारबाही गरेको छ । कार्यालयले ती व्यवसायीलाई नापतौल ऐन अनुसार जरिवाना गर्दै कानुनी दायरामा ल्याएको हो ।
कार्यालय प्रमुख सुनील यादवका अनुसार कारबाहीमा परेका व्यवसायीहरूले स्वेच्छाले ढक, तराजु र डिजिटल नापतौल यन्त्र प्रयोग गर्दै आएका थिए । ‘कार्यालयले नियमित अनुगमन गर्दै यस्ता गतिविधि नियन्त्रणमा ल्याएको छ,’ यादवले भने ।
उक्त अवधिमा कार्यालयले ८८१ वटा व्यवसायिक तथा औद्योगिक प्रतिष्ठानलाई नयाँ नापतौल यन्त्र र कानुनी अनुमति प्रदान गरेको छ भने दुई हजार ३७२ व्यवसायीको नापतौल यन्त्र परीक्षण तथा जाँच गरिएको छ ।
त्यसैगरी, सर्लाही, महोत्तरी र रामेछाप जिल्लामा नापतौल सम्बन्धी सचेतना अभियान पनि सञ्चालन गरिएको यादवले बताए । जाँच, अनुमति वितरण र जरिवानामार्फत कार्यालयले ४१ लाख १२ हजार ८४० रुपैयाँ राजस्व संकलन गर्न सफल भएको छ ।
गुणस्तर तथा नापतौल कार्यालयले उपभोक्ता अधिकार र व्यवसायिक पारदर्शिता सुनिश्चित गर्न नियमित कारबाही र निगरानी अझ कडा बनाउने जनाएको छ ।

