विदेशबाट फर्किएका युवाका लागि ५० हजारसम्मको स्वरोजगार अनुदान

जनकपुरधाम, ३१ जेठ । वैदेशिक रोजगारीबाट फर्किएका युवालाई स्वदेशमै स्वरोजगारमा जोड्न धनुषाको जनकनन्दनी गाउँपालिकाले ठोस कदम चालेको छ ।
गाउँपालिकाले युवाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन स्वरोजगार कार्यक्रमअन्तर्गत अधिकतम ५० हजार रुपैयाँ नगद अनुदान प्रदान गर्ने घोषणा गरेको हो ।
गाउँपालिका अध्यक्ष दिपिनदेव यादवका अनुसार चालु आर्थिक वर्षको सशर्त कार्यक्रम अन्तर्गत यो अनुदान कार्यक्रम विशेष रूपमा विदेशबाट फर्किएका, बेरोजगार अवस्थामा रहेका वा स्वरोजगार सुरु गर्ने तयारीमा रहेका युवालाई लक्षित गरेर ल्याइएको हो ।
‘अब युवाहरू विदेश जानुको सट्टा आफ्नै गाउँठाउँमा व्यवसाय गर्न सकून् भन्ने हाम्रो सोच हो,’ अध्यक्ष यादवले भने, ‘अनुदानले नयाँ स्वरोजगार सुरु गर्न चाहने र पहिले नै व्यवसायमा लागेकाहरूलाई विस्तारमा पनि सहयोग पुग्नेछ ।’
गाउँपालिकाले अनुदानसहित व्यवसाय योजना निर्माण, तालिम र प्राविधिक परामर्शसमेत उपलब्ध गराउने जनाएको छ । स्वरोजगारबाट स्थानीय उत्पादन, सेवा र व्यवसायको विकाससँगै रोजगारी सिर्जना हुने विश्वास गरिएको छ ।
अध्यक्ष यादवले आगामी दिनमा बैंक तथा वित्तीय संस्थासँग सहकार्य गरी स्वरोजगारमा इच्छुक युवाका लागि सहुलियतपूर्ण कर्जा योजना समेत ल्याउने तयारी भइरहेको जानकारी दिए ।
स्थानीय सरकारको यस्तो पहलले वैदेशिक रोजगारीको विकल्पमा स्वदेशमै उद्यमशीलता बढाउने विश्वास गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


