मधेश प्रदेशले तोक्दैछ ‘ब्रान्ड रुख’, पीपल, वर र नीम सिफारिस

जनकपुरधाम, ३१ जेठ । मधेश प्रदेश सरकारले प्रदेशको पहिचान र वातावरणीय चेतनासँग जोडिने गरी पहिलोपटक ‘ब्रान्ड रुख’ घोषणा गर्ने तयारी गरेको छ । यसका लागि गठित कार्यदलले पीपल, वर र नीम रुखलाई सिफारिस गर्दै प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा बुझाएको छ ।
एक महिना अघिदेखि सक्रिय रहेको वन अधिकृत सुरेश शर्माको संयोजकत्वमा तीन सदस्यीय कार्यदलले धार्मिक, सांस्कृतिक, वातावरणीय र जैविक पक्षमा आधारित अध्ययन तथा सरोकारवालासँगको परामर्शपछि प्रतिवेदन तयार पारेको हो ।
कार्यदलका संयोजक शर्माका अनुसार छलफलमा सहभागीहरूको प्राथमिकतामा पीपल पहिलो, वर दोस्रो र नीम तेस्रो स्थानमा परेका थिए । ‘यी रुखको सामाजिक, आध्यात्मिक र औषधीय महत्त्वसँगै पर्यावरणीय मूल्य उच्च भएकाले सिफारिस गरिएका हुन्,’ शर्माले भने ।
प्रतिवेदन मन्त्रिपरिषद्मा छलफलपछि तीमध्ये एक रुखलाई आधिकारिक रूपमा ‘प्रदेश ब्रान्ड रुख’को रूपमा घोषणा गरिने छ । शर्माका अनुसार यस्ता पहिचानले प्रदेशवासीमा प्रकृतिप्रतिको आत्मीयता बढाउने, संरक्षणका लागि सरकारी लगानी सुनिश्चित गर्ने र वातावरणीय चेतना फैलाउने विश्वास गरिएको छ ।
नेपालमै पहिलोपटक प्रदेश सरकारले यस्तो प्रकृतिको निर्णय प्रक्रिया अघि बढाएको हो । संघीय सरकारले अहिलेसम्म कुनै पनि रुखलाई ‘राष्ट्रिय रुख’ घोषणा गरेको छैन ।
छिमेकी भारतले भने ‘वर’लाई राष्ट्रिय रुख तोकेको छ भने चीन, अमेरिका, बङ्गलादेश, पाकिस्तानजस्ता देशले पनि आ–आफ्नो राष्ट्रिय रुख पहिचान गरिसकेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

