सबैलामा लिच्छवीकालीन मठेश्वर महादेव मन्दिरको अवशेष फेला

जनकपुरधाम, २८ जेठ । धनुषाको सबैला नगरपालिका–६ गोवीन्दपुरमा पुरातात्त्विक महत्वको लिच्छवीकालीन मठेश्वर महादेव मन्दिरको अवशेष फेला परेको छ ।
पुरातत्व विभागद्वारा गरिएको औपचारिक उत्खननमा करिब नवौँ शताब्दीको अन्त्यतिर निर्माण भएको ठानिएको उक्त मन्दिरको भग्नावशेष पत्ता लागेसँगै यस क्षेत्रलाई धार्मिक तथा सांस्कृतिक पर्यटनको केन्द्रका रूपमा विकास गर्ने सम्भावनाको ढोका खुलेको छ ।
सर्वप्रथम आर्थिक वर्ष २०८०/८१ मा सबैला नगरपालिकाले आफ्नै पहलमा बजेट विनियोजन गरी पुरातात्त्विक अध्ययन र उत्खननका लागि प्रस्ताव गरेको थियो । त्यसअनुसार पुरातत्व विभागले प्रारम्भिक उत्खनन गर्दा एउटा मन्दिरको संरचना भेटिएको थियो । त्यसैको निरन्तरताका रूपमा चालु वर्ष २०८१/८२ मा दोहोरिएको उत्खननबाट अर्को मन्दिरको अवशेष फेला परेको छ ।

पुरातत्व विभागका प्रमुख अधिकृत प्रकाश दर्नालका अनुसार मन्दिर शिखर शैलीमा निर्मित रहेको पाइएको छ । यो लिच्छवीकालीन वास्तुकलाको नमूना हो । ढुंगामा कुँदिएका मूर्तिहरू, गजुरका टुक्रा, चिलम, इँटा र अन्य धार्मिक सामग्रीहरूले उक्त मन्दिर नवौँ शताब्दीको अन्त्यतिरको हुन सक्ने प्रबल संकेत दिन्छ । दर्नालका अनुसार मन्दिरमा प्रयोग गरिएका शिल्पकला र आकृतिहरूले बुद्धकालीन शिल्पशैलीसँग सामीप्यता राख्छन् । त्यो ऐतिहासिक दृष्टिले झनै महत्वपूर्ण ठहरिन्छ ।
इन्जिनियर सुरेन्द्र पजियारले अहिलेसम्म २५ वटा मूर्तियुक्त ढुंगा, विभिन्न धार्मिक सामग्री र दुईवटा छुट्टाछुट्टै मन्दिरका भग्नावशेष फेला परेको जानकारी दिए । पहिलो मन्दिरको संरचना अनुमानित ५०–६० फिट उचाइको रहेको अनुमान गरिएको छ भने दोस्रो मन्दिर १५–२० फिटको हुन सक्ने देखिएको छ । उनका अनुसार आगामी मंसिर महिनाबाट थप विस्तारित उत्खनन कार्य थालिनेछ ।

सबैला नगरपालिकाका नगर प्रमुख कारीराम यादवले मठेश्वर महादेव मन्दिरको उत्खननले सम्पूर्ण मधेश प्रदेशको धार्मिक, सांस्कृतिक र पर्यटन समृद्धिमा उल्लेखनीय योगदान गर्ने विश्वास व्यक्त गरे । उनले भने, ‘यो हाम्रो साझा धरोहर हो । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेर आगामी वर्षदेखि पुनर्निर्माण र संरक्षणको काम सुरु गरिनेछ । यो स्थल मधेशको गौरव बन्नेछ ।’
अहिले पनि उत्खनन कार्य जारी रहेकाले भविष्यमा अझै महत्वपूर्ण ऐतिहासिक दस्तावेज र अवशेष पत्ता लाग्ने विश्वास गरिएको छ । स्थानीय सरकार र पुरातत्व विभागको सहकार्यमा संरक्षण गरिने यस ऐतिहासिक स्थलले केवल सबैलामै नभई सम्पूर्ण प्रदेशकै सामाजिक, सांस्कृतिक र आर्थिक जीवनमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


