सप्तरी, २८ जेठ । विवाहको प्रलोभनमा पारेर सम्बन्ध बनाइएका एक युवतीमाथि प्रेमीको अभिभावकद्वारा गरिएको अमानवीय व्यवहारका कारण उनको गर्भमै शिशुको मृत्यु भएको छ ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–२ की २० वर्षीया सनिसा कुमारी खङ्गमाथि प्रेमीका आमाबुबाले जबर्जस्ती विषादी खुवाउँदा पेटमा रहेको चार महिनाको गर्भ नष्ट भएको हो ।

घटना बुधबार बिहान ४ बजेतिर भएको हो । स्थानीय गजेन्द्रनारायण सिंह अस्पतालमा उपचाररत पीडित युवतीले दिएको बयानअनुसार उनका प्रेमी शिवजी खङ्गका बुबा परमेश्वर खङ्ग र आमा झुलफुल देवी उनी सुतेकै बेला घरमा पसेर हातखुट्टा बाँधेर जबर्जस्ती विषादीयुक्त ट्याब्लेट खुवाएका थिए ।

‘आमाबुबाले मलाई समातेर मुखमा ४–५ वटा ट्याब्लेट जबर्जस्ती कोच्नुभयो, त्यसपछि म बेहोस भएछु,’ अस्पतालको बेड नम्बर २६ मा उपचार गराइरहेकी सनिसाले भनिन् । विषादी सेवनपछि तत्काल प्रहरीले उद्धार गरी अस्पताल पुर्याए पनि चिकित्सकहरूले गर्भमा रहेको शिशु मृत भइसकेको निष्कर्ष दिएका छन् ।

सनिसाको आमाले बताएअनुसार उनीहरूकी छोरीलाई प्रेमी शिवजीले लामो समयदेखि विवाहको आश्वासनमा राखेर सम्बन्ध बनाउँदै आएका थिए । हाल २३ वर्षीय शिवजीसँगको सम्बन्ध सनिसाको विद्यालय जीवनदेखि नै रहेको परिवारको भनाइ छ । कक्षा १० मा पढ्दै गर्दा प्रेम सम्बन्धमा रहेका उनीहरूले पछिल्लो समयमा शारीरिक सम्बन्धसमेत बनाएका थिए ।

विवाहको प्रतिवद्धता नपुरा गरेर फरार भएका शिवजीविरुद्ध पीडित पक्षले प्रहरीमा उजुरी दर्ता गराएका थिए । त्यसअघि २०८१ चैत १२ गते गाउँमा बसेको पञ्चायती बैठकमा शिवजीले उमेर पुगेपछि विवाह गर्ने कबुलनामामा हस्ताक्षर गरेका थिए । तर, केही समयपछि उनी भागेपछि पीडित युवतीले प्रहरीको सहयोगमा प्रेमीको घरमा शरण लिएकी थिइन् ।

त्यही बेला प्रहरीकै उपस्थितिमा घरमै बसेकी युवतीमाथि हिंसा भएको हो । पीडित पक्षका अनुसार प्रेमी पक्षले गर्भपतन गराउन दवाब दिँदै आएका थिए । युवतीले अस्वीकार गरेपछि कुटपिट गर्दै विषादी खुवाइएको हो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी जितेन्द्र कुमार बस्नेतले घटनामा संलग्न परमेश्वर खङ्ग र झुलफुल देवीलाई पक्राउ गरिएको पुष्टि गरे । ‘कुटपिट र भ्रुण हत्या मुद्दामा कानुनी प्रक्रिया अघि बढाइएको छ,’ डीएसपी बस्नेतले भने । हाल शिवजी खङ्ग भने फरार छन् ।