जनकपुरधाम, २८ जेठ । निर्गुण भक्ति आन्दोलनका महान प्रतिनिधि तथा सामाजिक सुधारक सद्गुरु कबीरदासको ६२७औं प्रकट्य जयन्ती जनकपुरधाममा विविध धार्मिक र सांस्कृतिक कार्यक्रमसहित उल्लासपूर्ण वातावरणमा मनाइएको छ ।

मधेश प्रदेश सरकारले यसपटक पहिलोपटक कबीरदास जयन्तीको अवसरमा सार्वजनिक बिदा घोषणा गरेपछि जनकपुरमा कबीरपन्थी अनुयायीहरूद्वारा भव्य कार्यक्रमहरूको आयोजना गरिएको थियो ।

सद्गुरु कबीर बालबात्सल्य आश्रमबाट निस्किएको भव्य र्‍यालीले जनकपुरधामका विभिन्न क्षेत्रको परिक्रमा गर्यो । र्‍यालीको नेतृत्व आश्रमका संचालक सत्यनारायण आलोकले गरेका थिए । र्‍यालीमा सहभागी अनुयायीहरूले भजन, नाराबाजी, झाँकी प्रदर्शनजस्ता माध्यमबाट कबीरको शिक्षाको प्रचारप्रसार गरे ।

कार्यक्रममा विशेष अतिथि रूपमा सहभागी भएका मधेश प्रदेशका वन तथा वातावरण मन्त्री संजयकुमार यादवलाई कबीरपन्थी समुदायले विशेष सम्मान प्रदान गरेका थिए । मन्त्री यादवले कबीरदासको शिक्षाले समावेशी समाज निर्माणमा मार्गदर्शन गर्ने बताए । उनले जात–पात, छुवाछुत, अन्धविश्वासविरुद्ध कबीरले देखाएको बाटो आजको सन्दर्भमा अझ सान्दर्भिक रहेको उल्लेख गरे ।

सद्गुरु कबीरदासको जन्म (अवतरण) सन् १३९८ मा भारतको वाराणसीस्थित लहरतारा तालको कमलको फूलबाट भएको मानिन्छ । कबीर सागरअनुसार त्यतिबेला नीरु–नीमा नाम गरेका मुस्लिम दम्पतीले उनलाई आफ्नो आश्रयमा लिएका थिए । हिन्दू–मुस्लिम दुवै धर्मका कठोर आलोचक रहँदै मानवता र आध्यात्मिकतामा आधारित शिक्षाद्वारा कबीरले समाजमा चेतना ल्याएका थिए ।

उनका शिक्षाबाट प्रभावित कबीर पन्थ सम्प्रदाय भारत, नेपाल, मौरिसस, त्रिनिडाड–टोबागो लगायतका देशमा पनि फैलिएको छ । जनकपुरधामसहित मधेश प्रदेशका विभिन्न स्थानमा कबीरपन्थीहरूले भजन, सत्संग, प्रवचन र सामाजिक सन्देशमूलक गतिविधि गर्दै जयन्ती मनाएका छन् ।

यसवर्ष प्रदेश सरकारले कबीरदास जयन्तीलाई आधिकारिक रूपमा सार्वजनिक बिदाको रूपमा घोषणा गरेपछि स्थानीय समुदायमा उत्साह थपिएको देखिएको थियो । कबीरको विचारलाई विद्यालय, समाज र राजनीतिक वृत्तमा समेत प्रचार–प्रसार गर्नुपर्ने आवश्यकता वक्ताहरूले औंल्याएका थिए ।

कार्यक्रममा स्थानीय नेता, समाजसेवी, विद्यार्थी, धार्मिक अगुवा र सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो । आयोजकले अबदेखि प्रत्येक वर्ष कबीर जयन्तीलाई प्रदेशस्तरीय महोत्सवको रूपमा मनाउनुपर्ने मागसमेत गरेका छन् ।