जनकपुरधाम, २८ जेठ । जनकपुरधाम उपमहानगरपालिका–१७ अन्तर्गत ओसरा टोलमा हरेक वर्ष बाढीले दोहोरिँदो क्षति पुर्याउँदै आएको भन्दै नगर प्रमुख मनोज कुमार साहसहितको टोलीले बुधबार जलाध नदीको स्थलगत अनुगमन गरेको छ ।

अनुगमनमा नेपाली सेना, सुरक्षा निकाय, नगरका जनप्रतिनिधि, प्राविधिक तथा स्थानीयवासीको उपस्थिति रहेको थियो । नदी आसपासको संरचनात्मक अवस्था, कटानको सम्भावना, पानीको बहाव र जोखिमयुक्त क्षेत्रको निरीक्षण गरिएको हो ।

नगर प्रमुख साहले भने, ‘हरेक वर्ष दोहोरिने बाढीको जोखिम अब दीर्घकालीन रुपमा समाधान गर्ने गरी उपमहानगरपालिका गम्भीर बन्नेछ ।’ उनले बाढीबाट हुने क्षति न्यूनीकरणका लागि आवश्यक पूर्वाधार निर्माण, तटबन्ध र जल निकासी व्यवस्थापनमा प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गरे ।

स्थानीय बासिन्दाले पनि तत्काल तटबन्ध निर्माण, कटान नियन्त्रण र बाढी पूर्वतयारी योजना कार्यान्वयनमा जोड दिँदै जनप्रतिनिधिसँग सहयोगको अपेक्षा गरेका छन् ।

जलाध नदी आसपासको जोखिम न्यून गर्न नगरस्तरमै सशक्त पहल आवश्यक रहेको सहभागीहरूले बताएका छन् । निरीक्षणपछि नगरपालिकाले सम्बन्धित निकायसँग समन्वय गर्दै शीघ्र निर्माण कार्य अघि बढाउने तयारी थालेको जनाइएको छ ।