जनकपुरधाम, २८ जेठ । मधेश प्रदेशसभा सदस्य तथा नेकपा एमालेका सांसद दिपेन्द्र ठाकुर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मुद्दापछि निलम्बनमा परेका छन् ।

बुधबार बसेको प्रदेशसभा बैठकमा सभामुख रामचन्द्र मण्डलले अख्तियारले पठाएको पत्र पढेर ठाकुरको निलम्बनबारे जानकारी गराएका हुन् ।

मंगलबार अख्तियारले धनुषाको औरही गाउँपालिकामा १५ शय्याको अस्पताल निर्माणका क्रममा आर्थिक हिनामिना गरेको आरोपमा ठाकुरसहित १७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । ठाकुर एमाले संसदीय दलका उपनेतासमेत थिए ।

अख्तियारका अनुसार ठाकुरले आफ्नो निर्माण कम्पनी डी एण्ड एन बिल्डर्स प्रालिका प्रबन्ध निर्देशकका हैसियतले ठेक्काका लागि कार्य अनुभवसम्बन्धी कागजात हेरफेर गरी ठेक्का सम्झौता गरेका थिए । अख्तियारले उनीविरुद्ध ६ करोड ७९ लाख १२ हजार ३८३ रुपैयाँ बराबरको बिगो कायम गर्दै कैद र जरिवानाको मागसहित विशेष अदालतमा अभियोग दायर गरेको छ ।

धनुषा क्षेत्र नं. ३(२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित ठाकुर मधेश प्रदेशमा प्रभावशाली नेताका रूपमा चिनिँदै आएका थिए ।

यसअघि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलका नेता अभिराम शर्मा पनि सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको हत्यामा दोषी ठहरिएपछि निलम्बनमा परेका थिए ।