मधेश प्रदेशको नीति तथा कार्यक्रम सर्वसम्मत पारित, संशोधन प्रस्तावहरू अस्वीकृत

जनकपुरधाम, २७ जेठ । मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत नीति तथा कार्यक्रम प्रदेशसभाबाट सर्वसम्मत रूपमा पारित भएको छ । मंगलवार बसेको प्रदेशसभा बैठकले ध्वनि मतबाट नीति तथा कार्यक्रम अनुमोदन गरेको हो ।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीमार्फत प्रदेशसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव मुख्यमन्त्री सतिश कुमार सिंहले बैठकमा प्रस्तुत गरेका थिए ।
दुई दिनसम्म चलेको छलफलका क्रममा सांसदहरूले उठाएका विभिन्न जिज्ञासाको जवाफ पनि मुख्यमन्त्री सिंहले बैठकमै दिएका थिए ।
सभामुख रामचन्द्र मण्डलले निर्णयार्थ प्रस्ताव पेस गर्दा विपक्षमा कुनै मत नपरेपछि नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको घोषणा गरेका थिए ।
यद्यपि यसअघि चार जना सांसदले नीति तथा कार्यक्रममा संशोधन गर्न प्रस्ताव दर्ता गराएका थिए । ती प्रस्तावहरू सभामुखले फिर्ता लिन आग्रह गरे पनि सांसदहरूले फिर्ता नलिएपछि निर्णयार्थ प्रस्तुत गरिएको थियो । तर, ती संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएका थिए ।
प्रदेशसभाबाट सर्वसम्मत अनुमोदन प्राप्त गरेसँगै मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षका कार्यदिशा र प्राथमिकताहरू कार्यान्वयनको चरणमा लैजाने तयारी थालेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


