सतलोक आश्रममा १५ जोडीको दाइजोमुक्त सामूहिक विवाह

जनकपुरधाम, २७ जेठ । दाइजो प्रथाजस्तो पुरातन र हानिकारक सामाजिक अभ्यास कायमै रहेको मधेशमा एउटा प्रेरणादायी र परिवर्तनकारी उदाहरण प्रस्तुत गरिएको छ । मिथिला नगरपालिका–२ बेलाचापीस्थित सतलोक आश्रममा ६२८औँ कबीर प्रकट दिवसको अवसर पारेर १५ जोडी नवविवाहितहरूको दाइजोमुक्त सामूहिक विवाह सम्पन्न गरिएको हो ।
तीन दिवसीय महोत्सवअन्तर्गत मंगलवार सम्पन्न विवाह कार्यक्रम जम्मा १७ मिनेटमा सम्पन्न गरिएको आश्रमले जानकारी दिएको छ । वैवाहिक विधि ’असुर निकन्द रमैणी’ भनिने परम्परागत मिथिला संस्कृतिमा आधारित धार्मिक मन्त्रोच्चारणमार्फत सम्पन्न गरिएको हो ।
विवाहमा ९ जोडी नेपालका र ६ जोडी भारत, बिहार राज्यका सहभागी थिए। अधिकांश विवाह अन्तरजातीय स्वरूपका थिए ।
सतलोक आश्रमले पछिल्ला केही वर्षदेखि दाइजोमुक्त र तामझामविहीन सामूहिक विवाह कार्यक्रम सञ्चालन गर्दै आएको छ । परम्परागत मिथिला विधिमा आधारित रमैणी पद्धति अपनाइएको यी विवाहमा भोजभतेर, सांगीतिक कार्यक्रम वा देखावटी खर्च नहुने हुँदा आर्थिक रूपमा कमजोर वर्गका लागि विवाह गराउनु सहज हुने विश्वास आश्रमले व्यक्त गरेको छ ।
सतलोक आश्रमका एक प्रतिनिधिका अनुसार विवाह गराइने जोडीहरूमा अभिभावकको सहमति, सामाजिक मान्यता र धार्मिक विधिको पालना अनिवार्य छ । ‘हामी विवाहलाई सामाजिक र व्यवहारिक सुधारसँग जोडेर हेर्छौं,’ उनले भने, ‘दाइजो प्रथा, जातीय विभेद र आर्थिक देखावटी प्रतिस्पर्धाको विरुद्धमा व्यवहारमै परिवर्तन ल्याउनु हाम्रो उद्देश्य हो ।’
विवाह समारोहसँगै आश्रममा कबीर प्रकट दिवसको अवसरमा धार्मिक, सामाजिक र सेवामूलक कार्यक्रमहरू पनि सम्पन्न भएका छन् । महोत्सवमा सन्त गरीबदास जी महाराजको अमरवाणीको अखण्ड पाठ, विशाल सत्सङ्ग, निःशुल्क भोजन (भण्डारा) र रक्तदान कार्यक्रम सञ्चालन गरिएको थियो । रक्तदान शिविरमा ६८ युनिटभन्दा बढी रगत संकलन गरिएको आश्रमले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


