महोत्तरी, २७ जेठ । पिपरा गाउँपालिकामा शिक्षा क्षेत्रको गुणस्तर सुधारका लागि गठित कार्यदलले प्रारम्भिक प्रतिवेदन गाउँपालिका अध्यक्ष रामजानकी यादवलाई बुझाएको छ । प्रतिवेदन गाउँपालिकाभित्रका सामुदायिक विद्यालयहरूको वर्तमान शैक्षिक अवस्था र समस्याहरूको गहन अध्ययनपछि तयार गरिएको हो ।

गाउँपालिकाका १६ वटा सामुदायिक विद्यालयमा गरिएको वस्तुगत र सूक्ष्म विश्लेषणमा आधारित प्रारम्भिक प्रतिवेदनमा विद्यालयहरूको शैक्षिक उपलब्धि, संरचना तथा पूर्वाधारको स्थिति, स्रोतसाधनको अभाव, व्यवस्थापन पक्ष र शिक्षकको कमीलगायतका जटिल पक्षहरू समेटिएको कार्यदलले जनाएको छ ।

प्रतिवेदनमा शिक्षाको गुणस्तर अभिवृद्धिका लागि आवश्यक नीति, कार्यक्रम र रणनीतिक सिफारिसहरू पनि प्रस्तुत गरिएको छ । कार्यदलले विस्तृत अन्तिम प्रतिवेदनको तयारी प्रक्रिया जारी रहेको र छिट्टै सार्वजनिक गरिने जानकारी दिएको छ ।

गाउँपालिका अध्यक्ष यादवले शिक्षा सुधारलाई संस्थागत प्राथमिकता दिँदै प्रारम्भिक प्रतिवेदन अध्ययनपछि आगामी आर्थिक वर्ष २०८२/०८३ को गाउँ अधिवेशनमा आवश्यक निर्णय लिइने बताए । उनले सुधारको प्रक्रिया चरणबद्ध रूपमा अघि बढाइने प्रतिबद्धता समेत जनाए ।