ढल्केवरमा कबुलियती वन कार्यान्वयन विषयक गोष्ठी सुरु

जनकपुरधाम, २७ जेठ । मधेश प्रदेश सरकारअन्तर्गत सञ्चालित ‘समृद्धिको लागि वन परियोजना’ अन्तर्गत कबुलियती वन कार्ययोजनाको कार्यान्वयन विषयक दुईदिने गोष्ठी धनुषाको ढल्केवरमा सुरु भएको छ। गोष्ठीको आयोजना प्रदेश परियोजना व्यवस्थापन इकाई जनकपुरधामले गरेको हो भने डिभिजन वन कार्यालय धनुषाले समन्वय गरेको हो।
गोष्ठीमा कबुलियती वनका प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधि, वन विज्ञहरू तथा सरोकारवाला निकायका सहभागीहरूको उपस्थिति रहेको छ। कार्यक्रममा सहभागीहरूले कबुलियती वन योजनाको प्रभावकारी कार्यान्वयन, स्थानीय समुदायको सहभागिता, स्रोत व्यवस्थापन र दिगो विकासका विषयमा आ–आफ्ना विचार प्रस्तुत गरेका छन्।
वक्ताहरूले कबुलियती वनले वातावरणीय सन्तुलन कायम राख्ने, ग्रामीण क्षेत्रमा रोजगारी र आय आर्जनको स्रोत बन्ने तथा जैविक विविधताको संरक्षणमा योगदान दिने धारणा व्यक्त गरे। उनीहरूले कार्ययोजना पारदर्शी र उत्तरदायी बनाउन स्थानीय तहमै निगरानी संयन्त्र आवश्यक रहेकोमा जोड दिए।
गोष्ठीमा कार्यान्वयन प्रक्रिया, देखा पर्ने चुनौतीहरू र तिनको समाधानका उपायहरूबारे विस्तृत छलफल गरिएको आयोजकले जानकारी दिएको छ। मधेश प्रदेश सरकारले वन स्रोतको दिगो उपयोग र संरक्षणलाई प्राथमिकता दिँदै प्रदेशका विभिन्न जिल्लामा यस्ता कार्यक्रम विस्तार गरिरहेको जनाएको छ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


