धनुषामा नेपाल किसान महासंघको चौथो अधिवेशन सम्पन्न

जनकपुरधाम, २७ जेठ । नेपाल किसान महासंघ धनुषा जिल्ला समितिको चौथो जिल्ला अधिवेशन जनकपुरधाममा सम्पन्न भएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा राष्ट्रिय सभा सदस्य पूर्वमन्त्री आनन्द प्रसाद ढुंगानाको प्रमुख आतिथ्य र पार्टीका सहमहामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादवको विशिष्ट आतिथ्यमा सम्पन्न अधिवेशनमा विभिन्न तहका नेताहरूको सक्रिय सहभागिता रह्यो ।
अधिवेशनमा बोल्दै प्रमुख अतिथि ढुंगानाले समृद्ध नेपाल निर्माणको आधार कृषिमा निर्भर रहेको उल्लेख गर्दै कृषिमा वैज्ञानिक दृष्टिकोण र आधुनिक प्रविधिको प्रयोग अनिवार्य भइसकेको बताए । उनले कृषकलाई केन्द्रमा राखेर सरकारको नीति निर्माण हुनुपर्नेमा जोड दिँदै कृषिमा लगानी र अनुदान वृद्धि गर्नुपर्ने आवश्यकता रहेको बताए ।
विशिष्ट अतिथि यादवले किसान महासंघलाई नेपाली कांग्रेसको मूल शक्ति भएको उल्लेख गर्दै कृषकका हकहितको मुद्दामा संगठन अझ सक्रिय र सशक्त हुनुपर्ने धारणा राखे । उनले जलवायु परिवर्तन, सिँचाइको अभाव तथा मल–बीउको अनियमित आपूर्तिलाई किसानका लागि ठूला चुनौतीका रूपमा औँल्याए ।
कार्यक्रममा पूर्वमन्त्री रामसरोज यादव, सांसद कुमरकान्त झा लगायतका नेताहरूले कृषिमा सुधार ल्याउन तीनवटै तहका सरकारबीच समन्वयात्मक योजना आवश्यक भएको धारणा राखे । उनीहरूले किसानको जीवनस्तर उकास्न नीतिगत हस्तक्षेप अपरिहार्य रहेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला, पालिका र वडा तहका नेताहरू, महासंघका प्रतिनिधिहरू, किसानहरू तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो । अधिवेशनपछि महासंघको नयाँ जिल्ला कार्यसमिति चयन प्रक्रिया सुरु हुने जनाइएको छ । नयाँ नेतृत्वले किसानको हकहितमा थप प्रभावकारी काम गर्ने विश्वास व्यक्त गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


