मधेश प्रदेशमा कबिर जयन्तीको अवसरमा सार्वजनिक बिदा

जनकपुरधाम, २७ जेठ । कवि, संत र समाज सुधारक कबिर दासको जयन्तीको अवसरमा बुधबार मधेश प्रदेशभर सार्वजनिक बिदा दिइएको छ ।
प्रदेश सरकारअन्तर्गत गृह, सञ्चार तथा कानुन मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै बुधबार सार्वजनिक बिदा रहने जानकारी दिएको हो ।
विज्ञप्तिमा जनाइएअनुसार समाजमा समानता, धार्मिक सहिष्णुता र मानव कल्याणको सन्देश फैलाउने कबिर दासको योगदानको स्मरण गर्दै बिदा घोषणा गरिएको हो । कबिर दासको जयन्ती भारतसहित नेपालका विभिन्न स्थानहरूमा सांस्कृतिक श्रद्धाका साथ मनाउने परम्परा रहिआएको छ ।
मधेश प्रदेशमा कबिर पन्थी समुदायको उल्लेखनीय उपस्थिति रहेको र समुदायको धार्मिक तथा सांस्कृतिक भावनाको सम्मानस्वरूप प्रदेश सरकारले हरेक वर्ष सार्वजनिक बिदा दिँदै आएको मन्त्रालयले स्पष्ट पारेको छ ।
कबिर दासको विचार र शिक्षाले आज पनि समाजमा सन्देश दिने काम गरिरहेको स्मरण गर्दै प्रदेश सरकारले यस दिनलाई सम्मानपूर्वक मनाउन आह्वान समेत गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


