जनकपुरधाम, २६ जेठ । जनकपुरधाम उपमहानगरपालिकाको सहयोगमा न्यायीक समितिको अधिकार क्षेत्र, कानुनी जानकारी तथा कार्यान्वयन सम्बन्धमा जनचेतना फैलाउने उद्देश्यसहित सोमवारदेखि सडक नाटक प्रदर्शन गर्न सुरू गरिएको छ ।

सडक नाटकको पहिलो दिन जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१७ तेतरिया बजारमा ‘समाधान’ शीर्षकको नाटकमार्फत स्थानीय समुदायलाई न्यायीक समितिको अधिकार, भूमिका र नागरिकले पाउन सक्ने कानुनी सेवाबारे जानकारी दिइएको थियो ।

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका नगर उपप्रमुख किशोरी साह, प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल, महिला तथा बालबालिका अधिकृत सौर्य साहलगायतको उपस्थिति रहेको थियो ।

सडक नाटकमा रामनारायण ठाकुर, गङ्गा कान्त झा, राम कैलाश ठाकुर, सुरेन्द्र राय, अनिता रानी मण्डल, राजेश सक्सेना, सपना साह, शिवानी मिश्र र रोशनी कर्णले अभिनय गरेका थिए । उनीहरूले न्यायीक समितिमा उजुरी दर्ता गर्ने प्रक्रिया, स्थानीय तहमा समाधान गर्न सकिने विवाद र समितिको सीमित अधिकारको व्याख्या अभिनयमार्फत प्रभावकारी रूपमा प्रस्तुत गरे ।

नाटकमार्फत न्यायीक समितिको पहुँच र प्रभावकारिता बारे स्थानीय बासिन्दामा जागरूकता बढाउने प्रयास गरिएको उपप्रमुख किशोरी साहले बताए । सडक नाटकले आम नागरिकलाई सहज ढंगमा कानुनी चेतना फैलाउने माध्यमका रूपमा प्रभाव छाडेको उनको भनाइ छ ।

जनकपुरधामका २५ वटै वडामा यो सडक नाटक प्रदर्शन गरिने आयोजकले जानकारी दिएको छ ।