सिरहामा सरकारी शिक्षककै बारीमा गाँजा खेती, प्रहरीद्वारा नष्ट

सिरहा, २६ जेठ । सिरहाको एक सरकारी विद्यालयमा कार्यरत शिक्षकको बारीमा अवैध रूपमा गरिएको गाँजा खेती प्रहरीले फडानी गरी नष्ट गरेको छ ।
सिरहा नगरपालिका–१४ स्थित मण्डल टोलमा रहेको शिक्षक चित्तर मण्डलको बारीमा करिब ५० बोट गाँजा रोपिएको पाइएको हो ।
सोमबार बिहान गाँजा सेवन भइरहेको सूचनाका आधारमा प्रहरी चौकी खिरौनाबाट प्रहरी सहायक निरीक्षक केशवलाल यादवको नेतृत्वमा खटिएको टोलीले घटनास्थलमा पुगेर अवैध गाँजाका बोटहरू नष्ट गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घटनास्थल खिरौना प्रहरी चौकीबाट करिब ५ सय मिटर पश्चिममा पर्दछ । शिक्षक मण्डल सिरहा नगरपालिका–१३ फूलवरियास्थित जनता माध्यमिक विद्यालयमा कार्यरत छन् । प्रहरीका अनुसार हालसम्म उनलाई नियन्त्रणमा लिएको वा थप अनुसन्धान अघि बढाइएकोबारे औपचारिक जानकारी सार्वजनिक गरिएको छैन ।
नेपालमा लागू औषध नियन्त्रण ऐन, २०३३ अनुसार गाँजाको खेती, ओसारपसार वा सेवन गैरकानुनी मानिन्छ । ऐनको धारा ४९(क) अनुसार गाँजा उत्पादन गरेमा एक वर्षदेखि तीन वर्षसम्म कैद र दस हजार रुपैयाँसम्म जरिवानाको प्रावधान छ ।
शिक्षक जस्तो जिम्मेवार पदमा रहेका व्यक्तिको बारीमा गाँजा खेती भेटिनु शिक्षा क्षेत्रको नैतिकता र विश्वासमाथि गम्भीर प्रश्न उठाउने विषय भएको स्थानीयको भनाइ छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


