पर्सा, २६ जेठ । वीरगंज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो १० महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट संकलन गरेको छ ।

कार्यालयका अनुसार सो अवधिमा पाँच प्रकारका पेट्रोलियम पदार्थको आयातमा १ खर्ब ५५ अर्ब ९४ करोड रुपैयाँ खर्चिएकोमा त्यसबाट ६४ अर्ब ५० करोड रुपैयाँ राजस्व संकलन भएको हो ।

कुल राजस्व संकलनमा पेट्रोलियम पदार्थको योगदान ४६.२६ प्रतिशत रहेको भन्सार प्रमुख दीपक लामिछानेले जानकारी दिए । उनका अनुसार वीरगंज भन्सारको मुख्य राजस्व स्रोत नै पेट्रोलियम पदार्थ र सवारीसाधनको आयात हो ।

पेट्रोलियमपछिको दोस्रो ठूलो राजस्व स्रोत भने सवारीसाधन तथा तिनका पार्टपूर्जाको आयात रह्यो । त्यसबाट १५ अर्ब २४ करोड रुपैयाँ राजस्व संकलन भएको छ । यो कुल राजस्वको १०.९३ प्रतिशत हो ।

त्यस्तै अन्य प्रमुख वस्तुहरू फलाम तथा फलामजन्य सामग्रीबाट ५ अर्ब २५ करोड, मेसिनरी तथा पार्टपूर्जाबाट ४ अर्ब ५५ करोड, इलेक्ट्रिक मेसिनरी तथा उपकरणबाट ३ अर्ब ३७ करोड, विभिन्न किसिमका कपडाबाट २ अर्ब ८७ करोड, सुर्तीजन्य पदार्थबाट २ अर्ब २३ करोड र शृङ्गार सामग्रीबाट २ अर्ब २२ करोड राजस्व संकलन भइको बताइएको छ ।

यस आधारमा वीरगंज भन्सारले देशको व्यापार तथा राजस्व संकलनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको देखिन्छ ।