जनकपुरधाम, २६ जेठ । सडक सुरक्षामा सुधार र सवारी चालकहरूको स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित जनकपुरधाममा ट्राफिक सप्ताह–२०८२ को पाँचौं दिन स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।

सोमबार बिहान ७ बजेबाट १० बजेसम्म सञ्चालन भएको कार्यक्रममा १३० जना चालक तथा सहचालकहरूले आँखा परीक्षण, श्रवण शक्ति परीक्षण र रक्तचाप परीक्षण गराएका छन् ।

मधेश प्रदेश सरकार अन्तर्गत गृह, सञ्चार तथा कानून मन्त्रालय र ट्राफिक प्रहरी कार्यालयको आयोजनामा तथा प्रादेशिक अस्पताल जनकपुरधामको प्राविधिक सहयोगमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो ।

स्वास्थ्य परीक्षणमा सहभागी चालक–सहचालकहरूले यस किसिमको नियमित परीक्षणले आफूहरूलाई स्वास्थ्यप्रति सजग बनाउने मात्र नभई सवारीसाधन चलाउँदा सतर्कता र सुरक्षा सुनिश्चित गर्न समेत सहयोग पुग्ने प्रतिक्रिया दिएका छन् ।

ट्राफिक प्रहरीले ट्राफिक सप्ताहको अवसरमा जनचेतनामूलक अभियानस्वरूप सडक सुरक्षासम्बन्धी विविध कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । रक्तदान, प्रचार–प्रसार, स्वास्थ्य परीक्षण तथा समुदायसँग संवाद कार्यक्रममार्फत सडक सुरक्षा र ट्राफिक अनुशासनमा सुधार ल्याउने उद्देश्य राखिएको ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ ।