राजर्षि जनक विश्वविद्यालयको भवन निर्माण तत्काल अघि बढाउन युवा नेताहरूको माग

जनकपुरधाम, २६ जेठ । राजर्षि जनक विश्वविद्यालयको भवन निर्माणमा भइरहेको ढिलाइप्रति गम्भीर चिन्ता व्यक्त गर्दै नेपाली कांग्रेस र जसपा नेपालका युवा नेताहरूले प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीलाई संयुक्त रूपमा ध्यानाकर्षण गराएका छन् ।
जसपा नेपालका युवा नेता जितेन्द्र यादव र नेपाली कांग्रेसका युवा नेता प्रवेश कुमार चौधरीले धनुषाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई बुझाएको ध्यानाकर्षण पत्रमार्फत भवन निर्माण प्रक्रिया तत्काल सुरु नगरे विरोधका कार्यक्रमहरू चर्काउने चेतावनी दिएका छन् ।
ध्यानाकर्षण पत्रमा उल्लेख भएअनुसार, २०५३ सालदेखि थालिएको पहलले २०६६ मा विश्वविद्यालय स्थापनाको रूप लिएपछि मधेशका लागि महत्वपूर्ण उपलब्धि मानिएको थियो । तर, यति लामो समय बितिसक्दा पनि भवन निर्माण सुरु नहुनु आम नागरिकका लागि निराशाजनक भएको उनीहरूको तर्क छ ।
धनुषाको फुलगामा रहेको ९ विघा १४ धुर गुठी जग्गामा २०८१ साउन ८ गते गुठी संस्थान र विश्वविद्यालयबीच सम्झौता भए पनि त्यसको कार्यान्वयनमा कुनै प्रगति नहुनु र त्यही अवधिमा गुठीलाई मासिक पाँच लाख तथा विश्वविद्यालय सञ्चालनमा मासिक ६ लाख रुपैयाँ खर्चिनु शंकास्पद रहेको भन्दै नेताद्वयले प्रश्न उठाएका छन् ।
उनीहरूले मंगलबार हुन गइरहेको विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहको सफलताको शुभकामना दिँदै उक्त ऐतिहासिक क्षणलाई सार्थक बनाउने हो भने सरकारले भौतिक पूर्वाधारको विकासमा ढिलासुस्ती नगर्न आग्रह गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


