रौतहटका तत्कालीन प्रशासकीय अधिकृतसहित पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा

रौतहट, २६ जेठ । रौतहटको फतुवा विजयपुर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शम्भु कुमारसहित पाँचजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा कृषकलाई स्प्रे ट्यांकी औषधि वितरण गर्ने नाममा सूचना नै प्रकाशित नगरी नक्कली पत्रिकाको आधारमा २ लाख १२ हजार २२५ रुपैयाँ सरकारी कोषबाट अनियमित रूपमा भुक्तानी गरिएको प्रमाण भेटिएको हो ।
उक्त प्रकरणमा प्रशासकीय अधिकृत कुमारसँगै तत्कालीन सह–लेखापाल नवीनकुमार यादव, तराई पोष्टका प्रकाशक रुपेन्द्र पटेल, प्रतिनिधि ओमप्रकाश यादव र जनसवाल पब्लिकेशनका सम्पादक रामजी बगालेलाई पनि प्रतिवादी बनाइएको छ ।
भुक्तानी गरिएको सूचनाहरू तराई पोष्ट र जनसवालमा प्रकाशित देखाइएको भए पनि ती पत्रिकाहरूको वास्तविक अंक फेला नपरेको तथा सूचना कहिल्यै सार्वजनिक नभएको अख्तियारको ठहर छ ।
मिलेमतोमा झुटो सूचना प्रकाशन देखाएर सरकारी रकम दुरुपयोग गरिएको ठहर गर्दै आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ अनुसार कैद सजाय र बिगो बराबरको जरिवाना माग गर्दै विशेष अदालतमा अभियोगपत्र दर्ता गरेको हो ।
अख्तियारले सार्वजनिक सूचना प्रक्रियामा पारदर्शिता नदेखिएको र सरकारी स्रोतको दुरुपयोग भएको भन्दै दोषीहरूमाथि कडा कानुनी कारबाहीको मागसमेत गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

