जनकपुरधाम, २६ जेठ । धनुषास्थित सतलोक आश्रममा ६२८औँ कबीर प्रकट दिवसको अवसरमा आयोजित तीनदिने विशेष आध्यात्मिक महोत्सव सोमबारदेखि भव्य रूपमा सुरु भएको छ ।

सन्त रामपाल महाराजको मार्गदर्शनमा सञ्चालन गरिएको यस महोत्सवको उद्घाटन बिहान ९ः१५ बजे सन्त गरीबदास महाराजद्वारा रचित अमर ग्रन्थ साहिबको अखण्ड पाठबाट गरिएको थियो ।

कार्यक्रमको पहिलो दिनमै हजारौँको संख्यामा श्रद्धालु भक्तजनहरू आश्रममा उपस्थित भएका छन् । आश्रम परिसरमा सञ्चालनमा रहेको विशाल भण्डारामा शुद्ध घ्यू प्रयोग गरिएका परिकारहरू निःशुल्क रूपमा वितरण गरिँदैछ । भक्तजनहरूका लागि खानपान, बास, पिउने पानी, शौचालय र सरसफाइको समुचित व्यवस्था गरिएको आयोजक संस्थाले जनाएको छ ।

आश्रममा निर्माण गरिएको दरबार साहिब मुख्य मञ्च र कबीर साहेबको जीवनदर्शन समेटिएको आध्यात्मिक प्रदर्शनी महोत्सवको विशेष आकर्षण बनेका छन् । सोमबार दाइजोमुक्त विवाह समारोह तथा रक्तदान कार्यक्रम सञ्चालन गरिएको छ भने मुख्य कार्यक्रम जेठ २८ गते विशेष भक्तिभाव र गरिमाका साथ सम्पन्न गरिने जानकारी आश्रमले दिएको छ ।

सामाजिक कुरीतिहरू विरुद्धको सन्देश र आध्यात्मिक शिक्षाको प्रवाह गर्ने उद्देश्यले आयोजना गरिएको यस महोत्सवलाई भक्तजनहरूले अध्यात्म र समाज सुधारको मिलनबिन्दुका रूपमा स्वागत गरेका छन् ।