महोत्तरी, २५ जेठ । बर्खायाम प्रारम्भ हुनुअघि बाढी र डुवानजस्ता प्राकृतिक विपद्बाट सम्भावित क्षति न्यूनीकरणका लागि मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले तीन जिल्लामा समन्वयात्मक पूर्वतयारी थालेको छ ।

महोत्तरी, धनुषा र सर्लाही जिल्लामा रहेका उच्च जोखिमयुक्त क्षेत्रमा नक्शाङ्कन गर्दै उद्धार तथा राहतको रणनीति बनाउने उद्देश्यसहित आइतबार बर्दिबासमा सुरक्षा निकाय र सरोकारवालाबीच महत्वपूर्ण समन्वय बैठक सम्पन्न भएको हो ।

बैठकमा गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले बर्सेनि आउने बाढी र त्यसपछिको महामारीको जोखिमबाट जनता जोगाउन समयमै पूर्वतयारी आवश्यक भएको बताए । उनले भने, ‘विगतको अनुभवलाई ध्यानमा राखेर यस वर्ष बाढी डुबानको क्षति न्यूनीकरण गर्न गृह मन्त्रालय अग्रसर भएर तयारीमा जुटेको छ ।’

बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, विपद् व्यवस्थापन शाखा, जिल्ला विपद् व्यवस्थापन समिति, र स्थानीय संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता थियो ।

गृह मन्त्रालयका सचिव विमलप्रसाद बरालका अनुसार तीनवटै जिल्लामा उच्च जोखिममा रहेका क्षेत्रको भू–नक्शा बनाई उद्धार टोली तयारी अवस्थामा राख्ने, राहत सामग्रीको अग्रिम व्यवस्थापन गर्ने र प्रतिकार्य योजना बनाई तालिका अनुसार कार्यान्वयन गरिनेछ ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले विशेष गरी रातु नदीको बाढीले वर्षेनि ४५ हजारभन्दा बढी मानिस प्रभावित हुने जानकारी दिए । त्यसैगरी मडहा, बाँके, ओक्सी, जङ्घा नदीका बाढी पनि ठूलो क्षतिको कारक बनेका छन् ।

धनुषामा कमला, जलाद, औरही नदीले प्रत्येक वर्ष डुबान र विस्थापन निम्त्याउने गरेका छन् भने सर्लाहीमा बागमती, झिम, लखन्देई र बकैया नदीका कारण मानव र भौतिक क्षति हुने गरेको छ ।

बैठकले समन्वय र तयारीलाई प्राथमिकता दिँदै सबै निकायहरूलाई पूर्वसूचना प्रणाली, उद्धार संयन्त्र र राहत वितरण प्रणालीलाई अझ प्रभावकारी बनाउन निर्देशन दिएको छ ।