महोत्तरी, २५ जेठ । शिक्षा क्षेत्रमा देखाएको अग्रणी भूमिका र सुधारात्मक कार्यका आधारमा महोत्तरी गाउँपालिकाले ‘उत्कृष्ट पालिका पुरस्कार’ प्राप्त गरेको छ ।

पोखरामा आयोजित प्रिन्सिपल्स एशोसिएसन अफ नेपाल (पान) को दोस्रो राष्ट्रिय सम्मेलनमा गाउँपालिका अध्यक्ष दिलिप कुमार पाण्डेयलाई औपचारिक रूपमा सम्मानित गरिएको हो ।

पानले देशभरका पालिकाहरूको शैक्षिक प्रगति २५ वटा मापदण्डका आधारमा मूल्यांकन गर्दै आएको छ । विद्यार्थी भर्नादर, परीक्षाफल, शिक्षकको नियमितता, बालमैत्री वातावरण, शैक्षिक पूर्वाधार, छात्रवृत्ति व्यवस्थापनदेखि अभिभावक सहभागितासम्मका सूचकहरू समेटिएको मूल्यांकनमा महोत्तरी गाउँपालिका उत्कृष्ट देखिएको हो । मूल्यांकन समितिको अध्यक्षता शिक्षा शास्त्री प्रा.डा. विद्यानाथ कोइरालाले गरेका थिए ।

अध्यक्ष पाण्डेयको नेतृत्वमा पालिकाले शिक्षा क्षेत्रसँगै स्वास्थ्य, सरसफाइ, पशुपालन, पूर्वाधार र जनचेतनामूलक कार्यक्रममार्फत समग्र विकासलाई गति दिएको छ । शिक्षक तालीम, विद्यार्थी अभिप्रेरणा कक्षा, सिकाइको गुणस्तर वृद्धिमा पालिकाले विशेष ध्यान दिएको छ ।

भौतिक पूर्वाधारतर्फ पनि गाउँपालिकाले ठूला योजना अघि बढाएको छ । आर्थिक वर्ष २०८२/८३ मा सांसद गोमा लाभको पहलमा शहरी विकास मन्त्रालयमार्फत पर्सा–महोत्तरी–सनुखरा, महोत्तरी–परकौलीचोक र गोरीगम्मा–रातोपुल सडक खण्डमा नालासहितको पक्की सडक निर्माणका लागि ९ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।

सम्मान प्राप्तिपछि अध्यक्ष पाण्डेयले भने, ‘यो पुरस्कारले महोत्तरी मात्र नभई मधेश प्रदेशको प्रतिष्ठा उच्च बनाएको छ । अब हाम्रो जिम्मेवारी झन बढेको छ ।’