जनकपुरधाम, २५ जेठ । धनुषा जिल्लाको मुखियापटी मुसहरनिया गाउँपालिका–६ लक्ष्मीपुर टोलमा शनिबार राति प्रहरीको छापामार कारबाहीले परिवारमा अभद्र व्यवहार र तोडफोडको घटनाको आरोप लागेको छ ।

पीडित पक्षका अनुसार राति करिब १ बजेको समयमा तीन दर्जनभन्दा बढी प्रहरीको टोलीले भोगेन्द्र यादवको घरमा छापा मारेका थिए । घरको छतबाट प्रवेश गरेका प्रहरीहरूले बलपूर्वक चुकुल फोडेर घरको सरसामान तोडफोड गर्दै महिलामाथि अभद्र व्यवहार गरेको आरोप छ ।

घरमा नगद दुई लाख रुपैयाँ र केही थान सुनचाँदीका गहना हराएको गुनासो पीडित महिलाहरूले गरेका छन् । पीडित पक्षले प्रहरीको कारबाहीलाई ‘दमनकारी’ र ‘असंवैधानिक’ भन्दै कागजपत्र बिना बल प्रयोग गरिएको बताएका छन् ।

विकास यादवले भने, ‘राति सुतिरहेको अवस्थामा प्रहरी एक्कासी घरभित्र पस्यो । एक जनाले पेस्तोल देखाउँदै धम्की दियो, ‘बढी बोलिस भने मर्छस्। ’ जब मैले दिनको उज्यालोमा किन नगर्ने भनेर सोधेँ तिनीहरूले मलाई जबरजस्ती बाहिर निकालेर धकेले ।’

उक्त घटनामा काका उपेन्द्र यादव गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि जनकपुरधामको न्युरो अस्पतालमा भर्ना गरिएको छ । घटनालाई लिएर राजनीतिक प्रतिशोधको शंका उठाइएको छ । नेकपा एमालेका स्थानीय नेता सुशील यादवका अनुसार केही समय अघि जसपा नेपालका नेता विरेन्द्र छोटेसँग भनाभन भएको थियो । त्यसका कारण प्रहरी प्रशासनमा दबाब दिई झूटो उजुरीका आधारमा मुद्दा चलाइएको आरोप लगाए ।

फुलगामा प्रहरी चौकीका इन्चार्ज अवधलाल सोनारले उक्त घटनामा आफू पनि सहभागी भएको स्वीकार गर्दै जिल्लाबाट आएको टोलीले साथ दिन भनेपछि गएको बताए । तर, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी वरुणबहादुर सिंहले घटनाबारे जानकारी नपाएको भन्दै चुप्पी साधेका छन् ।

स्थानीयवासीले घटनामा महिला र बालबालिकामाथि भय उत्पन्न गरिएको र प्रहरीको अमानवीय व्यवहारको विरोध गर्दै निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन् । एमाले धनुषाले प्रेस विज्ञप्ति जारी गर्दै घटना कडा शब्दमा विरोध जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘रातको समयमा नागरिकको मौलिक हक कुचिएको, महिला र बालबालिकामाथि भय उत्पन्न गरिएको छ । यो पूर्णरूपमा गैरकानुनी र अमानवीय हो ।’