जनकपुरधाम, २५ जेठ । मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री बसन्त कुशवाहाले प्रदेशमा औद्योगिकीकरण र पर्यटन विकासलाई प्राथमिकता दिँदै आर्थिक रूपान्तरणको खाका तयार गरिएको बताएका छन् ।

मन्त्री कुशवाहाले मधेशलाई आत्मनिर्भर र उद्यमशील बनाउने दिशामा काम अघि बढाइने दाबी गरेका छन् ।

मन्त्री कुशवाहाले ’एक लाख रोजगारी सिर्जना गर्ने’ नीति कार्यक्रमलाई ऐतिहासिक मान्दै भने, ‘अबको मधेश रोजगारी सिर्जना, उद्यमशीलता र आर्थिक गतिशीलताको नयाँ युगमा प्रवेश गर्दैछ । यस योजनाले प्रदेशको स्वरूप नै परिवर्तन गर्नेछ ।’

उनले औद्योगिक ग्राम स्थापना, स्थानीय स्रोतको अधिकतम उपयोग र सहकारी तथा निजी क्षेत्रसँग सहकार्य गरेर स्थायी औद्योगिक पूर्वाधार निर्माणको तयारी भइरहेको जानकारी दिए ।

मधेशको धार्मिक, सांस्कृतिक र जैविक विविधतालाई पर्यटनको माध्यमबाट व्यवसायिक बनाउने योजना अनुसार जनकपुरधाम, गढीमाई, थारु बस्ती र सप्तकोशीलजस्ता प्रमुख गन्तव्यहरूको पूर्वाधार निर्माण र होमस्टे प्रवर्द्धनमा कार्य भइरहेको उनले बताए ।

‘भारतको अयोध्यासँग धार्मिक सम्बन्ध जोडेर भारतीय पर्यटकलाई लक्षित गर्दै प्रचारप्रसार गरिनेछ । दैनिक करोडौं पर्यटक अयोध्या जान्छन्, तीमध्ये १ प्रतिशत पनि मधेश आउन सके भने ठूलो आर्थिक योगदान मिल्छ,’ कुशवाहाले भने ।

कुशवाहाले अब केवल भाषण मात्र नभई जनतालाई ठोस कार्यको अनुभूति हुने विश्वास व्यक्त गर्दै भने, ‘अब कार्य देखिनेछ, रोजगारी सिर्जना, स्थानीय उत्पादनको बजार सुनिश्चितता र आर्थिक गतिशीलता हाम्रो मुख्य लक्ष्य हो ।’

मन्त्री कुशवाहाले मधेश प्रदेशलाई उद्योग र पर्यटनका क्षेत्रमा ठूलो सम्भावना भएको भन्दै आगामी दशकलाई आर्थिक रूपान्तरणको युग बनाउने संकल्प व्यक्त गरेका छन् ।