महोत्तरी, २५ जेठ । महोत्तरीको औरही नगरपालिकामा ८ विद्यालयका उत्कृष्ट विद्यार्थी सम्मानित गरिएका छन् ।

लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा ८ कक्षाका प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका विद्यार्थीहरूलाई प्रोत्साहन स्वरूप साईकल बितरण गरिएको हो ।

नगर प्रमुख प्रदीप खड्का, उपप्रमुख रेनु झा, लोसपा नेपाल मधेश प्रदेश सचेतक रमिता प्रधान, जिल्ला समन्वय समिति अध्यक्ष सुमन कर्ण, लोसपा नेपालको सचिव ज्ञानेन्द्र झा लगायतका प्रमुख व्यक्तिहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

लोसपा नेपालको अध्यक्ष महन्थ ठाकुरले भने, ‘शिक्षा र प्रेरणाले नै समाजमा सकारात्मक परिवर्तन ल्याउँछ । आजको साईकल वितरणले विद्यार्थीहरूको आत्मविश्वास र भविष्यको मार्ग प्रशस्त गर्ने छ । हामीले शिक्षा प्रणालीको सुधारको लागि लगातार काम गर्नेछौं ।’

नगर प्रमुख प्रदीप खड्काले साईकल वितरणलाई विद्यार्थीहरूको लागि एक प्रेरणाको स्रोत रहेको बताउँदै आजको कार्यक्रम शिक्षाको महत्वलाई उजागर गर्न र विद्यार्थीहरूको प्रगतिको लागि प्रेरणा दिने एक कदम रहेको बताए ।

उपप्रमुख रेनु झाले पनि कार्यक्रमको महत्वलाई स्वीकार गर्दै यस कार्यक्रमले विद्यार्थीहरूको प्रोत्साहन र उत्साह वृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।

कार्यक्रममा ८ कक्षाका उत्कृष्ट विद्यार्थीहरूलाई साईकल वितरण गरिएको थियो ।