जनकपुरधाम, २४ जेठ । मधेश प्रदेश सरकारले प्रदेशवासीसँग सिधा संवाद गर्न ‘हेल्लो सिएम’ नामक विशेष कार्यक्रम सार्वजनिक गरेको छ ।

आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याइएको नीति तथा कार्यक्रममा यस योजनाको घोषणा गरिएको हो । यसअन्तर्गत प्रदेशवासीले आफ्ना गुनासो, सुझाव र समस्या मुख्यमन्त्री कार्यालयमा प्रत्यक्षरूपमा राख्न सक्नेछन् ।

मुख्यमन्त्री सतिश कुमार सिंह नेतृत्वको सरकारले ‘जनताको कुरा मुख्यमन्त्रीसम्म’ भन्ने नारालाई व्यवहारमा उतार्न ‘हेल्लो सिएम’ कार्यक्रम अघि सारेको हो । सिंहका अनुसार यस योजनाले सरकारलाई जनताको नजिक पुर्याउने र नागरिक सरोकारका विषयमा त्वरित प्रतिक्रिया दिन सहयोग पुर्याउनेछ ।

कार्यक्रमअन्तर्गत नागरिकले टेलिफोन, सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्म प्रयोग गरी मुख्यमन्त्रीलाई सिधै सम्पर्क गर्न सक्नेछन् । सोही अनुरूप सरकार विशेष सूचना प्रणालीमार्फत गुनासो टिपोट, ट्र्याकिङ र समाधान प्रक्रिया अनलाइन ड्यासबोर्डमार्फत सञ्चालन गर्ने तयारीमा रहेको छ ।

‘हेल्लो सिएम’ कार्यक्रमलाई सरकार केवल गुनासो सुन्ने माध्यममा सीमित नराखी समाधानमुखी बनाउने बताइएको छ । जनगुनासोलाई गम्भीरतापूर्वक सम्बोधन गर्दै नीति निर्माण प्रक्रियामा समेत नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गरिने प्रदेश सरकारको भनाइ छ ।

मुख्यमन्त्री सिंहले भने, ‘सरकार जनताप्रति जवाफदेही बन्न चाहन्छ । ‘हेल्लो सिएम’ हाम्रो सुशासन, पारदर्शिता र जनउत्तरदायीताको प्रतिबिम्ब हो ।’ उनका अनुसार यस कार्यक्रमलाई समावेशी, पारदर्शी र दिगो शासनको आधारस्तम्भका रूपमा विकास गरिनेछ ।