रौतहट, २४ जेठ । रौतहटको फतुवा विजयपुर नगरपालिका–४ निवासी ४२ वर्षीय अनुठा राय यादवको सशस्त्र प्रहरीको मोटरसाइकल ठक्करबाट मृत्यु भएको झण्डै एक महिना बितिसक्दा पनि पीडित परिवारले न्याय नपाएको गुनासो गरेका छन् ।

गत बैशाख २४ गते सशस्त्र प्रहरी बल बेसक्याम्प दुधियाभारमा कार्यरत हबल्दार सुवास सिंहको मोटरसाइकल ठक्करले गम्भीर घाइते भएका यादवको सोही दिन मृत्यु भएको थियो । तर, घटनाको उजुरी इलाका प्रहरी कार्यालय गरुडामा दर्ता गरिए पनि हालसम्म दोषीमाथि कानुनी कारबाही र परिवारलाई क्षतिपूर्ति नदिएको पीडित पक्षको आरोप छ ।

मृतकका पत्नी श्रीपति देवी यादव, छोरा राजेश यादव, भाइ विश्वनाथ यादवसहित सामाजिक अगुवाहरू जय मंगल यादव, लक्ष्मी राय यादव, अजय कुमार यादव, उपेन्द्र यादव र रामशंकर पासवानले संयुक्त पत्रकार सम्मेलन गर्दै प्रहरी प्रशासनमाथि लापरवाही र मिलेमतोमा मुद्दा दबाउने प्रयास भएको आरोप लगाएका छन् ।

‘दोषी खुलेआम हिँडिरहेका छन्, हामी भने न्याय माग्न कार्यालय–कार्यालय धाइरहेका छौं,’ मृतककी पत्नी श्रीपतिले भनिन् । पत्रकार सम्मेलनमा प्रहरी नायव उपरीक्षक राजन कार्कीले सुवास सिंहलाई पक्राउ गरे पनि हाजिर जमानतमा रिहा गरिएको बताइएको छ ।

दुर्घटनामा घाइते भएका राम जिनिस साह अहिले पनि उपचारको प्रतीक्षामा छन् । यता, मृतक परिवारले न क्षतिपूर्ति पाएका छन्, न क्रिया खर्च । पीडितले आन्दोलनको चेतावनी दिँदै भनेका छन्, ‘अब चुप बस्दैनौं, प्रहरी कार्यालयदेखि प्रशासनसम्म चरणबद्ध धर्ना सुरु गर्छौं ।’

मृतकका छोरा राजेश यादवले घटनापछि स्थानीय नेताहरूले क्षतिपूर्ति दिलाउने आश्वासन दिएर आन्दोलन रोकाएका थिए । तर, हाल ती नेताहरू सम्पर्कविहीन रहेको भन्दै आक्रोश पोखेका छन् ।

पीडित पक्षले राज्य र सुरक्षानिकायको गैरजिम्मेवारी व्यवहारले आफूहरू दोहोरो पीडामा परेको भन्दै सशस्त्र प्रहरीमाथि दबाबमा मुद्दा मिलाउने प्रयास बन्द गर्न माग गरेका छन् ।

‘गरीब जनताको ज्यान सस्तो छैन, दोषीलाई कारबाही र क्षतिपूर्ति नदिएसम्म हाम्रो संघर्ष जारी रहनेछ,’ पत्रकार सम्मेलनमा पीडित पक्षको चेतावनी थियो ।