तिलाबे खोलामा बेलीब्रिज निर्माण हुने, ३ करोड १७ लाखमा ठेक्का सम्झौता

वीरगंज, २४ जेठ । गण्डक नहरस्थित तिलाबे खोलामा बाढीले क्षति पुर्याएको आरसीसी पुलको स्थानमा अब स्टिल बेलीब्रिज निर्माण गरिने भएको छ । नारायणी सिँचाइ व्यवस्थापन कार्यालयको सिफारिसमा सडक विभागले वैकल्पिक संरचना निर्माणको प्रक्रिया अघि बढाउँदै ठेक्का सम्झौता समेत गरिसकेको छ ।
२०७९ असारमा आएको भीषण बाढीले नहरमाथिको पुलको एक पिलर पूर्ण रुपमा र अर्को आंशिक रूपमा भत्काएपछि पुल संरचनात्मक रूपमा जोखिमपूर्ण बनेको थियो । पुलको फ्लोरसमेत भासिएको छ । आरसीसी पुल नहरको साइफन प्रणालीसँग जोडिएको हुँदा पिलरमा क्षति पुगेपछि संरचनात्मक संकट थपिएको हो ।
नारायणी सिँचाइ कार्यालयका इन्जिनियर सुरेशप्रसाद साहका अनुसार पुल निर्माणका लागि टेन्डर प्रक्रिया सकिएको छ । मूल्य अभिवृद्धि करसहित ३ करोड ३० लाख रुपैयाँको दररेटमा आह्वान गरिएको टेन्डरमा मेदान्तर–महम्मद इस्लाम ज्वाइन्ट भेन्चर कम्पनीले ३ करोड १७ लाख रुपैयाँमा ठेक्का पाएको हो ।
‘अब ठेकेदार कम्पनीले बेलीब्रिज जडानको काम शुरु गर्नेछ,’ इन्जिनियर साहले भने, ‘खोलाको दुवै किनारमा तारजालीलगायतका थप संरचना हाम्रो कार्यालयले बनाउनेछ ।’
तिलाबे खोलाको पुल वीरगंज महानगरपालिका र बहुदरमाई नगरपालिकाको सिमानामा पर्दछ । झन्डै ७० मिटर लामो यो पुल हुँदै दैनिक सयौं सवारी आवत–जावत गर्ने गर्थे । तर, बाढीपछि आवागमन पूर्ण रूपमा जोखिमपूर्ण बनेपछि स्थानीयवासीहरू वैकल्पिक संरचनाको माग गर्दै आएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

