जनकपुरधाम, २४ जेठ । राष्ट्रिय वैश्य महासंघ नेपाल, धनुषा शाखाले जिल्लाभित्र आफ्नो संगठनात्मक सञ्जाल विस्तार गर्न सक्रियता देखाएको छ । शनिबार सम्पन्न जिल्ला कार्यसमितिको बैठकले १८ वटै स्थानीय तहमा नगर संयोजक चयन गर्ने निर्णय गर्दै प्रारम्भिक चरणमा चार पालिकाका संयोजकहरूको चयन गरिसकेको छ ।

बैठकबाट जनकपुरधाम उपमहानगरपालिकाको संयोजकमा लक्ष्मण साह, क्षिरेश्वरनाथ नगरपालिकामा राजकुमार महासेठ, सबैला नगरपालिकामा जीवछ मण्डल तथा औरही गाउँपालिकामा परमेश्वर साह आशा चयन गरिएको कार्यसमिति सदस्य सन्तोष कुमार साहले जानकारी दिए ।

महासंघले बाँकी पालिकामा पनि क्रमशः संगठन विस्तार गर्दै संयोजक चयनको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।

बैठकले महासंघको पहिलो राष्ट्रिय महाधिवेशन आगामी कातिक २९ गते जनकपुरधाममा आयोजना गर्न माग गर्दै केन्द्रीय कार्यसमितिलाई औपचारिक आग्रह गर्ने निर्णय पनि गरेको छ । महाधिवेशन सफल बनाउन सबै तहका समितिहरूलाई सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरिएको छ ।

त्यसैगरी, वैश्य समुदायका अग्रजहरूको सुझाव र सल्लाह लिन सल्लाहकार समिति विस्तार गर्ने निर्णय समेत बैठकले गरेको छ । यसैक्रममा नथुनीलाल दास र ब्याहुत कलवार कुट्टीका पूर्व अध्यक्ष रमेश कुमार साह सल्लाहकार पदमा मनोनित भएका छन् । अन्य सल्लाहकारहरूको मनोनयन क्रमशः गरिने जनाइएको छ ।

महासंघको स्थायीत्व र संस्थागत विकासलाई ध्यानमा राख्दै जिल्ला कार्यसमिति कार्यालय तथा धर्मशाला निर्माण गर्न आवश्यक पर्ने जग्गा व्यवस्थापनको प्रक्रिया पनि सुरु गरिएको छ । यसका लागि सम्भावित जग्गादाताहरूसँग समन्वय गर्दै सहयोगको आग्रह गरिने निर्णय बैठकमा गरिएको छ ।