सिरहा, २४ जेठ । सप्तरीको कल्याणपुर बजारदेखि उदयपुरको मोतीगढा गाईघाटसम्म जोडिने नयाँ सडक ट्रयाक खोल्ने काम तीव्र गतिमा अघि बढिरहेको छ ।

पूर्व–पश्चिम राजमार्गबाट सुरु भई चुरे क्षेत्र पार गर्दै उदयपुर पुग्ने यो सडकले सिरहा–सप्तरीका तराई क्षेत्र र उदयपुरको पहाडी भेगलाई सिधा जोड्नेछ ।

करीब १७ किलोमिटर लामो सडक ट्रयाक खोल्ने कार्य सडक डिभिजन कार्यालय लहानको समन्वयमा भइरहेको छ । स्थानीय बासिन्दा र व्यवसायीहरू यो सडक परियोजनाले स्थानीय व्यापार, कृषि ढुवानी र जनजीवनमा ठुलो परिवर्तन ल्याउने अपेक्षामा छन् ।

कल्याणपुरका व्यवसायी राजेश यादव भन्छन्, ‘सडक खुलेपछि पहाडका फलफूल, तरकारी तराई ल्याउन र तराईका उपभोग्य वस्तु पहाड पुर्याउन सहज हुनेछ । ढुवानी खर्च घट्नेछ, समय बचत हुनेछ ।’

सडक शिलान्यासका अवसरमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले कल्याणपुरलाई पहाड–तराई जोड्ने व्यापारिक केन्द्रको रूपमा विकास गर्ने सम्भावनालाई औंल्याए । ‘जनघनत्व बढ्दैछ, सडक सुविधा पनि बढ्नैपर्छ,’ मन्त्री चौधरीले भने, ‘यो सडकले यहाँको स्थानीय अर्थतन्त्रलाई गति दिनेछ ।’

सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा सडक निर्माणका लागि ८ करोड ४५ लाख रुपैयाँभन्दा बढीको बजेट विनियोजन गरेको छ । ठेक्का सम्झौताअनुसार काठमाडौँस्थित मिसन कन्ट्रक्सन एण्ड स्प्लायर्स प्रालिले ४ करोड ४० लाख रुपैयाँमा सडक ट्रयाक निर्माणको जिम्मा लिएको हो । सम्झौताअनुसार काम यही असार ३० गतेभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

सडक डिभिजन कार्यालय लहानका इन्जिनियर चन्द्रकान्त चौधरीका अनुसार प्रारम्भमा वन कार्यालयबाट रूख काट्ने स्वीकृति प्राप्त नहुँदा केही ढिलाइ भए पनि हाल काममा तीव्रता आएको छ । निर्माण कम्पनीका इन्जिनियर सुरेन्द्र जैसवालले ट्रयाक १० मिटर चौडा हुने जानकारी दिँदै सडक सुरक्षित र दिगो बनाउन कच्ची नाला, ग्याभिन वाल र पलम कन्ट्रिक वाल निर्माणको समेत तयारी भइरहेको बताए ।

सडक ट्रयाक निर्माणको खबरले स्थानीय बासिन्दामा उत्साह थपेको छ । कल्याणपुरकी सञ्जु चौधरी भन्छिन्, ‘अब गाईघाट जान सजिलो हुनेछ । ट्रयाक खुलेपछि कालोपत्रे पनि भयो भने हाम्रो जनजीवन नै परिवर्तन हुन्छ ।’