महोत्तरीमा ट्राफिक प्रहरीको अभियानबाट दुर्घटना दर घट्दै

महोत्तरी, २४ जेठ । महोत्तरी जिल्लामा ट्राफिक प्रहरीले पछिल्ला तीन वर्षदेखि निरन्तर सञ्चालन गर्दै आएको सडक सुरक्षा सचेतना अभियानले उल्लेखनीय सफलता हासिल गरेको छ । सवारी दुर्घटनाको संख्या मात्र नभई दुर्घटनाबाट हुने मानवीय क्षतिमा समेत उल्लेखनीय गिरावट आएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीका अनुसार योजनाबद्ध ढंगमा लागू गरिएका विविध कार्यक्रमहरूमा सवारी चालक, सहचालक, यातायात व्यवसायी, सर्वसाधारण र विद्यालयका विद्यार्थीहरू समेत समेटिएका कारण दुर्घटना न्यूनीकरण प्रभावकारी देखिएका छन् ।
ट्राफिक प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले भने, ‘सडक सुरक्षा सम्बन्धी जनचेतनामूलक गतिविधिहरूलाई निरन्तरता दिनु र स्थानीय सहभागिता सुनिश्चित गर्नु नै प्रमुख सफलताको आधार हो । विगतको तुलनामा दुर्घटनाको संख्या मात्र नभई घाइतेको संख्या पनि घटेको छ ।’
प्राप्त तथ्यांकअनुसार, आर्थिक वर्ष २०७९/८० मा महोत्तरीमा ७४१ वटा सवारी दुर्घटनाहरू दर्ता भएका थिए भने १ हजार १०७ जना घाइते भएका थिए । तर, त्यसको तुलनामा २०८०/८१ मा दुर्घटना घटेर ५०४ मा सीमित भयो र घाइतेको संख्या पनि ७७२ मा झर्यो । यद्यपि, दुवै वर्षमा मृतकको संख्या समान ६८ रहेको छ ।
त्यस्तै, चालु आर्थिक वर्ष २०८१/८२ को वैशाख मसान्तसम्मका १० महिनामा मात्रै ५३४ वटा दुर्घटनाहरू दर्ता भएका छन् । तीमध्ये १०० वटा दुर्घटना कुनै मानवीय क्षति नहुने सामान्य किसिमका रहेका छन् । यस अवधिमा ३१ जनाको मृत्यु भएको छ भने ५६५ जना घाइते भएका छन् ।
ट्राफिक प्रहरी कार्यालय महोत्तरीले पछिल्ला दुई वर्षदेखि ‘सडक सुरक्षा सप्ताह’ अन्तर्गत जिल्लाका मुख्य शहरहरू बर्दिवास, जलेश्वर, गौशाला, रामगोपालपुर र सम्सीमा विभिन्न सचेतनामूलक गतिविधि सञ्चालन गर्दै आएको छ ।
कार्यक्रममा स्थानीय बासिन्दा, सामुदायिक विद्यालयहरू, सवारी चालक समूह र यातायात संघहरूको सहभागिता रहेको छ । गत बिहीबारदेखि सुरु भएको ट्राफिक सप्ताह व्यापकरूपमा मनाइँदैछ । यसको समापन आउँदो बुधबार हुनेछ ।
सडकमा ट्राफिक संकेतहरू, जिब्राक्रसिङ चिन्ह, हेल्मेट र सीटबेल्ट प्रयोग अनिवार्य गरिनु, ट्राफिक नियम उल्लङ्घनमा कारबाही र सचेतना सन्देशसहितका क्रियाकलापहरू पनि नियमित रूपमा जारी राखिएको ट्राफिक प्रहरीले जनाएको छ ।
प्रहरी निरीक्षक जोशीले भने, ‘हामीले सवारी दुर्घटना न्यूनीकरणका लागि सञ्चालन गरेका कार्यक्रमहरूमा स्थानीय तहदेखि आम नागरिकसम्मको सक्रिय सहयोग प्राप्त भएको छ । यही सहकार्य नै दुर्घटना रहित समाज निर्माणको आधार बन्नेछ ।’
उनले आगामी दिनमा सचेतनामूलक कार्यक्रमहरू अझ व्यवस्थित र प्रविधि मैत्री बनाउन र ती अभियानलाई स्थानीय तहको साझेदारीमा विस्तार गर्नुपर्ने आवश्यकता पनि औंल्याए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


