प्रजातन्त्रवादी चिकित्सक संघ मधेश प्रदेशको सचिवमा डा. मिशा महासेठ

जनकपुरधाम, २३ जेठ । नेपाली कांग्रेस निकट प्रजातन्त्रवादी चिकित्सक संघ (डेमोक्रेटिक डक्टर्स एसोसिएसन डीडीए) को प्रथम मधेश प्रदेश अधिवेशन शुक्रबार जनकपुरधाममा भव्यताका साथ सम्पन्न भएको छ । अधिवेशनबाट डा. मिशा महासेठ संघको प्रदेश सचिव पदमा निर्वाचित भएकी छन् ।
जनकपुरधाममा आयोजित अधिवेशनको प्रमुख आतिथ्य नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गरे । कार्यक्रममा पूर्व उपसभापति विमलेन्द्र निधि, वरिष्ठ नेता कृष्णप्रसाद सिटौला, सह–महामन्त्री महेन्द्र यादव, नेता आनन्द ढुंगाना, मधेश प्रदेश कांग्रेस सभापति कृष्णप्रसाद यादवलगायत नेताहरूको विशेष उपस्थिति थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएको उल्लेख गर्दै त्यसको कार्यान्वयनमा चिकित्सकहरूको लोकतान्त्रिक चेतनासहितको सहभागिता आवश्यक रहेको बताए । उनले भने, ‘जनताको स्वास्थ्य अधिकार सुनिश्चित गर्न प्रजातान्त्रिक मूल्यमा अडिग चिकित्सकहरूको भुमिका निर्णायक हुन्छ ।’
नव–निर्वाचित प्रदेश सचिव डा. महासेठले स्वास्थ्य क्षेत्रमा लामो अनुभवसहित समाजसेवामा समेत सक्रिय योगदान दिँदै आएकी छन् । उनको नेतृत्वमा मधेशमा जनस्वास्थ्यको सुधार र चिकित्सकीय सेवा विस्तारमा संघ अझ सशक्त रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा बोल्दै डा. महासेठले आफूलाई दिएको जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाउँदै जनतामाझ गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन समर्पित रहने प्रतिवद्धता जनाइन् ।
पूर्व उपसभापति निधिले डीडीएको संगठनले अब प्रदेशस्तरमै जनस्वास्थ्य अभियानलाई सशक्त बनाउने विश्वास व्यक्त गरे । उनले नयाँ नेतृत्वलाई शुभकामना दिँदै सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै कार्य गर्न आग्रह गरे ।
अधिवेशनले प्रजातान्त्रिक मूल्य र चिकित्सकको पेशागत मर्यादा अनुरूप संगठनलाई सबल बनाउँदै प्रदेशभर जनउत्तरदायी स्वास्थ्य अभियान सञ्चालन गर्ने निर्णयसमेत गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


