जनकपुरधाम, २३ जेठ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनकपुरधामस्थित श्रीरामजानकी सुडी कुटी तथा धर्मशालाको सामाजिक योगदानको प्रशंसा गरेका छन् ।

शुक्रबार कुटीको अवलोकनका क्रममा उनले संस्थाले जातीय, आर्थिक र सामाजिक दृष्टिले पिछडिएका वर्गको सेवामा पुर्याउँदै आएको योगदानलाई प्रेरणादायी भन्दै उच्च मूल्यांकन गरेका हुन् ।

कुटीका अध्यक्ष रामबालक महतो ‘संजीव’ले सभापति देउवालाई संस्थाको गतिविधिबारे जानकारी गराउँदै विवाह, ब्रतबन्ध जस्ता पारिवारिक कार्यका लागि स्थानीयलाई निशुल्क मन्दिर परिसर तथा धर्मशाला उपलब्ध गराउँदै आएको, विपन्न परिवारलाई आर्थिक सहयोग पुर्याउने र तिनका बालबालिकाको शिक्षामा समेत योगदान दिँदै आएको जानकारी दिएका थिए ।

अध्यक्ष संजीवले सो सेवा र गतिविधि चलाउन हालका संरचना अपुग भएकाले नयाँ संरचना निर्माणका लागि सहयोग आवश्यक भएको उल्लेख गर्दै संघीय तथा प्रदेश सरकारबाट आवश्यक स्रोत जुटाइदिन देउवासँग आग्रह गरेका थिए ।

उनको आग्रहमा सभापति देउवाले संघीय तथा प्रदेश सरकारबाट सक्दो सहयोग गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । देउवाले भने, ‘यस्ता सामाजिक संस्थाले मुलुकको आधारभूत सेवामा उल्लेखनीय भूमिका खेलिरहेका छन् । राज्यले यिनको संरक्षण गर्नुपर्छ ।’

देउवाको जनकपुरधाम भ्रमणका क्रममा नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि, सह–महामन्त्री महेन्द्र यादवलगायत केन्द्रीय तथा स्थानीय नेताहरू पनि सहभागी थिए ।